रबिन थपलिया । काठमाण्डौं । मधेश प्रदेशमा प्रहरी संगठनभित्र देखिएको संरचनागत विकृति, आन्तरिक शक्ति–संघर्ष र सुधार प्रयासबीचको टकराव पछिल्ला दिनहरूमा झन् तीव्र बन्दै गएको छ। मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी गोविन्द थपलिया नेतृत्वमा अघि बढाइएको भनिएको सुधार अभियानले मधेशमा विगतदेखि अपराधी, तस्कर तथा बिचौलियासँग मिलेमतो गर्दै आएका केही प्रहरी कर्मचारीहरूको रुवाबासी चलेको छ ।
मधेशमा अपराधी, तस्कर तथा बिचौलियासँग मिलेमतो गर्दै आएका केही त्यस्ता प्रहरी कर्मचारीहरूलाई कारबाहीका डण्डा चलाएपछि मधेश प्रहरी प्रदेश प्रमुख गोविन्द थपलियालाईनै बिबादमा ल्याउने प्रयास समेत गरिरहेका छन्।
मधेश प्रदेशमा प्रहरी संगठनभित्र व्यापक सुधार अभियान चालिरहेका डिआइजी थपलियाले ठूलो संख्यामा विवादित र बद्नामीमा मुछिएका प्रहरी कर्मचारीहरूलाई सरुवा गर्न थालेपछि उनिहरुले बिभिन्न शक्ति केन्द्र धाउने देखि बिचौलीया समेतको प्रयोग गदै डिआइजीलाई सरुवा गराउन समेत प्रयास गरीरहेका छन् । यस्ता व्यक्तिहरूले राजनीतिक पहुँच प्रयोग गरी बारम्बार मधेशमै सरुवा मिलाएर आफ्नो प्रभाव कायम राख्दै आएका थिए। पुरानो संरचनाबाट लाभ लिँदै आएका यस्ता तत्वहरूले संगठनलाई बदनाम बनाएको भन्दै डिआइजी थपलियाले उनिहरुमाथी कारबाही र सरुवा गर्न थालेपछि उनिहरु डिआइजीलाई बदनामी बनाउन लागि परेका हुन् ।
डिआइजी थपलियाले मधेश प्रदेशमा लामो समयदेखि जरा गाडेर बसेका कथित “अपराध–अनुकूल प्रहरी संरचना” भत्काउने अभियान सञ्चालन गरेको दाबी गरेका छन्। उनका अनुसार विगतमा केही प्रहरी कर्मचारीहरू अपराधी गिरोह, तस्कर तथा बिचौलियासँगको मिलेमतोमा संलग्न रही आर्थिक लाभ लिनुका साथै राजनीतिक पहुँचको दुरुपयोग गर्दै बारम्बार एउटै क्षेत्रमा फर्केर प्रभाव जमाउँदै आएका थिए। उनले उजुरी तथा प्रारम्भिक छानबिनका आधारमा १८७ जना प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको, केहीलाई प्रदेश बाहिर सरुवा गरिएको तथा बाँकीलाई अन्य इकाइहरूमा स्थानान्तरण गरिएको बताएका छन्।
यसैबीच, धनुषा केन्द्रित एक अडियो प्रकरण सार्वजनिक भएको दाबीले विवादलाई थप जटिल बनाएको छ। उक्त प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषासँग सम्बन्धित सई सागर राणाको नाम जोडिएको छ। सार्वजनिक भएको भनिएको अडियोमा सागर राणा र व्यापारी राजेश महासेठबीचको संवाद रहेको दाबी गरिएको छ, जसमा प्रहरी नेतृत्व, “घुमुवा” परिचालन प्रणाली तथा संगठनभित्रको असन्तुष्टिबारे छलफल भएको सुनिने बताइन्छ। अडियोमा केही उच्च प्रहरी अधिकारीहरूको नामसमेत उल्लेख भएको चर्चा छ, जसले प्रकरणलाई अझ संवेदनशील बनाएको छ।
प्रहरी स्रोतहरूका अनुसार सागर राणा केही दिनअघि प्रहरी चौकी जानकीका इन्चार्जको जिम्मेवारीमा थिए। उनीविरुद्ध बेनामी उजुरी परेपछि जिम्मेवारीबाट हटाई मधेश प्रदेश प्रहरी कार्यालयमा तानेर छानबिन प्रक्रिया अघि बढाइएको बताइएको छ। तर त्यसपछि उनी असन्तुष्ट बन्दै विभिन्न माध्यममार्फत प्रहरी नेतृत्वविरुद्ध बदनाम गराउने तथा चरित्रहत्या गर्ने गतिविधिमा संलग्न भएको आरोपसमेत लगाइएको छ।
सागर राणा लामो समयदेखि धनुषा क्षेत्रमा विवादास्पद “घुमुवा प्रहरी” का रूपमा परिचित रहेको स्रोतहरू बताउँछन्। उनीमाथि नाका क्षेत्रमा सक्रिय रहँदै अवैध आर्थिक लाभ उठाउने, व्यापारी तथा बिचौलियासँग मिलेर असुली गर्ने तथा विभिन्न स्थानमा पहुँचको आधारमा काज मिलाएर परिचालन हुने जस्ता आरोप लाग्दै आएका छन्। स्रोतहरूका अनुसार उनले स्थानीय अवैध गतिविधिबारे गहिरो जानकारी राख्ने भएकाले विभिन्न प्रहरी नेतृत्वसँग निकट सम्बन्ध कायम राख्दै त्यसको फाइदा उठाउने गरेको दाबी पनि गरिन्छ।
यसबाहेक, उनको नाम विगतमा पनि विभिन्न विवादमा जोडिँदै आएको बताइन्छ। वीरगञ्ज क्षेत्रमा एक वडा अध्यक्षमाथि कुटपिट गरेको घटनामा उनीविरुद्ध मुद्दा दर्ता भएको आरोपसमेत छ। साथै व्यापारी, होटल व्यवसायी तथा अन्य सरोकारवालामाथि दबाब सिर्जना गरी रकम असुल्ने, प्रभाव विस्तार गर्ने र अनौपचारिक आर्थिक सञ्जालमा संलग्न रहने जस्ता आरोपहरू पनि उनीमाथि लाग्दै आएका छन्।उता, डिआइजी गोविन्द थपलियाले भने आफूले मधेश प्रदेशका आठवटै जिल्लामा प्रत्यक्ष अनुगमनलाई तीव्र बनाएको र सीमा नाकामा हुने तस्करी नियन्त्रण गर्न विशेष रणनीति लागू गरेको बताएका छन्। उनले प्रहरी परिचालनलाई थप चुस्त, उत्तरदायी र परिणाममुखी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै “कुनै पनि प्रकारको गैरकानुनी गतिविधिलाई सहन नगर्ने” अडान दोहोर्याएका छन्।
प्रहरी प्रशासनले भने सार्वजनिक भएका अडियो, आरोप तथा प्रत्यारोपहरूलाई हालसम्म पुष्टि नभएको र भ्रामक हुन सक्ने बताउँदै औपचारिक धारणा सार्वजनिक गर्न हतार नगर्ने संकेत दिएको छ। स्रोतहरूका अनुसार आन्तरिक छानबिन प्रक्रिया जारी रहेको छ र आवश्यक परे प्राविधिक परीक्षणमार्फत अडियोको सत्यता जाँच गरिनेछ।
समग्रमा, मधेश प्रदेशमा जारी प्रहरी सुधार अभियान, त्यससँग गाँसिएका विवादहरू र अडियो प्रकरणले सुरक्षा निकायभित्रको आन्तरिक यथार्थलाई उजागर गरेको छ। सुधार र प्रतिरोधबीचको यो संघर्षले आगामी दिनमा संगठनको दिशा कता मोडिन्छ भन्ने प्रश्नलाई झन् जटिल बनाएको छ। सुशासन, जवाफदेहिता र संस्थागत विश्वास पुनःस्थापना गर्न अबका कदमहरू कति प्रभावकारी हुन्छन् भन्ने नै सबैभन्दा ठूलो परीक्षणका रूपमा उभिएको छ।
मधेशमा प्रहरी संगठनभित्र व्यापक सुधार अभियान चालिरहेका डिआइजी थपलिया बिचौलीयाको निसानामा


प्रतिक्रिया दिनुहोस्