“युवामाथिको हिंसा र शासनको विकृति”

Sagarmatha Post
Sagarmatha Post २४ भाद्र २०८२, मंगलवार
6 Min Read
Aa

दुर्गा प्रसाद दाहाल

रगत र उर्जाको साँचो मूल्य के हो भन्ने प्रश्न कुनै साधारण विमर्श होइन, यो हाम्रो समाजको आत्मामा गडेको शाश्वत चिह्न हो। जब एक पुस्ताले आफ्नो जीवनमात्र होइन, सारा उर्जा, सिर्जना र सपना पनि बली चढाउँछ, त्यसको मूल्य के कसैले रकम वा प्रतीकात्मक नारा लगाएर चुकाउन सक्छ? रगत त केवल रातो तरल होइन; त्यो भविष्यको बीउ हो, त्यो आमाको आँसु हो, त्यो बुबाको पसिना हो, त्यो प्रेमी–प्रेमिकाको अधूरो स्वप्ने थियो। जब सडकहरूमा युवा पुस्ताको रक्तपात हुन्छ, एउटै साथमा सयौं रंगिन सपना सहिद हुन्छन्, अनगिन्ती आवाज रुन्चे बनाइन्छ, अनि देशको मुटु नै ठप्प पारिएको हुन्छ। त्यतिबेला जनताले प्रश्न गर्छन्—सत्ता गर्नेहरूले त्यो दृश्य देख्दा के महसुस गर्छन्? तिनीहरूलाई एउटैपटक आफ्नो छोराछोरी याद आउँदैन? वा उनीहरूको संवेदना मृत भइसकेको छ? पवित्र धर्मग्रन्थ र दर्शनको पानाहरूले शासकलाई चेतावनी दिइसकेका हुन्छन् कि निरपराध रगत बगाउनु भनेको आफ्नै अस्तित्वमाथि श्राप लगाउनु हो। तर शक्तिमा लोभिएका शासक बारम्बार यही भूल गर्छन्। यही प्रश्नले हाम्रो चेतनालाई झकझक्याउँछ—के नेतृत्वमा बसेका ती पुरुष वा महिला केवल सत्ताका कठपुतली हुन्, न कि आफ्नै नागरिकका पिता वा माता? जब आदेश जारी हुन्छ, गोलीहरू चल्छन्, अनि अस्पतालहरू शवगृहमा परिणत हुन्छन्, त्यतिबेला कल्पना गर्न सकिन्छ कि न्यायको खोपडीमाथि चड्डी लगाएर शक्तिशालीहरू खुसी मनाइरहेका छन्। तर सत्य भनेको के हो भने यस्तो क्रूरतामा ताली बजायो भने अन्ततः समाज दिवालियापनमा डुब्छ। र यही स्थानमा हाम्रो चेतना फूट्छ—हामीलाई प्रश्न गर्नुपर्छ, हामीलाई जवाफ खोज्नुपर्छ, किनकि रगत सजिलो बीउ होइन, त्यो अनगिन्ती जीवनको बलिदान हो।

युवाप्रति गरिएको कठोर हिंसा समाजलाई गहिरो घाउ दिन्छ। उनीहरू, जसमा सञ्चय भएको छ सबैभन्दा उच्च स्तरको ऊर्जा, साहस, साहसिकता अनि सिर्जनशीलता, त्यही पुस्तालाई दमन गरेर शासन टिकाउने कस्तो विकृत खेल हो? युवाले अरूले उक्साउँदा गल्ती पनि गर्लान्, भावनामा बहकिएर कानून मिच्लान्, तर त्यस्ता भूललाई सजिलो शिक्षा, चेतावनी, न्यायिक उपचार वा शान्तिपूर्ण संवादले सुधार्न सकिन्छ। गोली भने कहिल्यै समाधान होइन। जब सरकारी फौज वा सुरक्षा निकायले ट्रिगर दबाउँछन्, त्यसले एउटा मात्र जीवन नलिन्छ—त्यो हजारौँ परिवारको हृदय च्यात्छ, राष्ट्रको आशा काट्छ, र एक पुस्तामा निराशाको विष घोल्छ। यसले जनताको चेतनामा एउटा अस्मरणीय प्रश्न उठाउँछ—युवालाई आन्दोलनमा उतार्ने, सडकमा ल्याउने, भिडमा प्रण दिने त उक्साउने हात थिए होला, तर अन्ततः गोली चलाउने आदेश त दिन्छ कसले? त्यो आदेश तुरुन्तै शक्तिशालीको नाममा कोहारिन्थ्यो, र त्यसकै कारण उसका ओठमा काँप आउनु पर्थ्यो। तर काँपेन्। उसको हृदयमा कम्पन आउनुपर्ने थियो, तर आएको छैन। सत्तामा बसेर आफ्नै नागरिकको टाउको निशाना बनाउने शासक आफूलाई के ठान्छ? यी सबै प्रश्नहरूले उसलाई इतिहासको कठघरा भित्र पुर्‍याउँछ। समयले प्रमाण दिन्छ—निरपराध युवाको टाउको फुटाउने आदेश लिहाजले होइन, अहंकारले जन्मिन्छ। परिणामस्वरूप त्यस्तो शासन कहिल्यै स्थिर रहिँदैन।

सत्ताधारीले जब रगत देख्छ, तब उसलाई आफ्नो कुर्सी बलियो बनाउन डरसँगै कठोर अंकुश लगाउन मन लाग्छ। आजको उदाहरण स्पष्ट छ—सामाजिक सञ्जाललाई नियन्त्रण गर्न लागिएका प्रतिबन्धहरू। सुरक्षा वा कानूनको नाममा “दर्ता नभएसम्म नखुल्ने” भन्दै समाधान खोज्ने प्रयास गरिन्छ। तर वास्तवमा त्यो प्रयास होइन, एउटा डर हो—सत्ताको असुरक्षा हो। कारण पनि छ—आजको पुस्ता डिजिटल पुस्ता हो। उनीहरूको आवाज फेसबुक, ट्विटर, टिकटक, युट्युब वा अन्य जरियामा तुरुन्तै फैलिन्छ। युवाको रगत, आमाको चिच्याहट, बाबुको छातीमा लागेको चोट, यी सबै कुरा सामाजिक सञ्जालमै गुञ्जन्छन्। शासकलाई थाहा छ—यस्तै प्रमाणले उनीहरूको अपराध उजागर गर्छ। त्यसैले उनले त्यस्ता माध्यम बन्द गरेर जनतालाई मौन राख्न खोज्छन्। तर यो इतिहासकै ठूलो भ्रान्ति हो—वाणीलाई गोलाले थाम्न सकिँदैन, सत्यलाई सेन्सरले कपट गर्न सक्दैन। हिटलर, मुसोलिनी, पिनोचे, वा कुनै पनि तानाशाहलाई सम्झिँदा प्रस्ट हुन्छ कि—मौन बनाउने चेष्टा जितेझैँ देखिन्छ, तर अन्ततः त्यो मौन विस्फोटमा परिणत हुन्छ। त्यसैले आजको चेतावनी हो—तिमीहरूले प्रतिरोध दबाउन खोज पर्यौ भने त्यो प्रतिरोध अझ सबल रूपमा फर्किन्छ।

त्यसैले जनताको धैर्यलाई अपमान गरेर, युवाको मृत्युलाई बेवास्ता गरेर, मात्र सत्ता टिक्दैन। इतिहास फेररी प्रमाण दिन्छ—जब निरपराध रगत बग्छ, त्यो शासन पतन हुन्छ। हाम्रो भौगोलिक क्षेत्रमै हेर्दा, राजाहरूको घमण्ड भत्किएको छ, निरंकुश सरकार ढालेको छ, र विदेशी अधिपत्यलाई समेत तल झारेको छ—त्यो सबै युवाको आन्दोलनकै परिणाम हो। युवाको रगत सजिलो सम्झौता वा क्षमापत्रले धोइँदैन। आज आवश्यकता छ न्यायको, जवाफदेहिताको, र समाजलाई नयाँ बाटोमा लैजाने साहसको। के केवल राजीनामा वा पदच्युत भए पुग्छ? छैन। त्यो सजिलो भाग्य हुनेछ सत्ताका अपराधीका लागि। अहिले आवश्यक छ एक गहिरो हिसाब—उनीहरूलाई अड्डामा फर्काउनु, अदालतमा पेश गर्नु, इतिहासको घर्षणमा लेख्टिनु। प्रतीकात्मक भनौँ वा प्रत्यक्ष, अन्ततः अपराधी नेतृत्वले १४ वर्षसम्म पनि वनवास त्रास भोग्नुपर्नेछ। यो पीडाजनक सत्य हो, तर अपरिहार्य। यदि उनीहरू स्वेच्छाले कुर्सी त्याग्दैनन् भने जनता आफैं लतारेर निकाल्छन्। जब जनताको मनघेरो टुट्छ, त्यहाँ कुनै शक्ति बाँकी रहँदैन जसले रोक्छ।

यसरी, यथार्थमा यो केवल बदला खोज्ने कहानी होइन, यो एउटा चेतावनी हो—यो राष्ट्र युवाको हो, उनीहरूको सपना र बलिदानले तन्दुरुस्त राखेको हो। जो कसैले हत्याको आदेश दियो, जसले गोली चलायो, जसले आवाज बन्द गर्न खोज्यो, उनीहरूले बुझ्नुपर्छ—अबको दिनहरू मनोरञ्जनका दिन होइनन्, जिम्मेवारीका दिन हुन्। आज वा भोलि, निष्पक्ष वा कठोर तरिकाले, न्याय हुनेछ। आत्मसमीक्षा गरेर स्वेच्छाले पदत्याग गर्नु तिम्रो लागि अझै सजिलो विकल्प हो। तर यदि ढीला गर्यौ भने, जनता आफैं उठ्नेछन्, प्रतिरोध गर्नेछन्, अनि तिमीहरूको तानाशाही मानसिकता इतिहासको अँध्यारो पानामा मात्रै बाँकी रहनेछ। राष्ट्रले अझै अवसर दिएको छ कि तिमीहरू आफैं सोच, आफैंसंग हिसाब गर, अनि मार्ग छान। विकल्प दुईवटा मात्र छन्—पहिलो आत्मसमर्पण र परिवर्तन, दोस्रो जनताको आक्रोश। र त्यो आक्रोश तिमीहरूलाई जहाँसम्म पुगोस्—पुस्तौँसम्म धिक्कार्नेछ।

पुर्ब प्रधानध्यापक: रोजमेरी आईडल बोर्डिङ्ग स्कुल, काठमाण्डौ हाल कर्मस्थल क्यानडा

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्