काठमाडौँ , काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालने) ले डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अपिल गरेका छन्। महामारी रोग नियन्त्रणका लागि कामपाको एक्लो प्रयासले मात्र रोकथाम हुन नसक्ने भएकाले रोग लाग्नै नदिनेतर्फ प्रयत्न गर्न महामारी रोगप्रति सचेत रहन, कामपाले सञ्चालन गरेका कार्यक्रममा सहयोग गर्न पनि प्रमुख शाहले अपिल गरेका हुन् ।
यस रोग फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै उनले पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरन्डामा जम्ने पानी लामखुट्टेको सङ्ख्या वृद्धि हुने ठाउँ भएकाले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय नराख्न आग्रह गरेका छन्।
नगरवासीलाई डेङ्गु रोग लाग्नबाट बचाउन कामपाले योजनाबद्ध कार्यक्रम सञ्चालन गरिरहेको छ । यस क्रममा वडास्तरमा दुई सय ६९ वटा सचेतनामूलक र्याली निकालिएको छ। हरेक बुधबार बिहान ८ः०० देखि ९ः०० बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान भइरहेको पनि उहाँले जानकारी गराए। यसका लागि सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका स्वास्थ्यकर्मी, वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय सङ्घसंस्था र क्लबका प्रतिनिधि, नगर प्रहरी, कर्मचारी यस अभियानमा खटिने गरेका छन्।
अस्पताल जानुपरे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न पनि कामपाले आग्रह गरेको छ। सामान्यतया सङ्क्रमित लामखुट्टेले टोकेको चारदेखि सात दिनभित्र कडा ज्वरो आउने, वाकवाकी लाग्ने, कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्नेजस्ता लक्षण देखिन्छन्।
प्रतिक्रिया दिनुहोस्