बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्छ : सांसद केसी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ, सांसद अर्जुनरसिंह केसीले बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उहाँले बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “निरपेक्ष गरिबीको रेखामुनि बसेका सिमान्तकृत नेपालीको सामाजिक सुरक्षा, न्याय र आयलाई प्रत्याभूति गर्नेतर्फ केन्द्रित हुन सकेनौँ भने केही ठाउँको विकासले क्षणिक विकास होला तर राष्ट्रिय विकासको गति अगाडि बढ्न सक्दैन”, उहाँले भन्नुभयो ।

सांसद केसीले नीतिगत भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले सदनमा सांसदहरुले भ्रष्टाचारका विषयमा बोलेको कुरा संसद्को रेकर्डबाट सहमतिका आधारमा हटाएकोप्रति आपत्ति जनाउनुभयो ।

“सांसदभित्र भ्रष्टाचारबारे बोल्न नपाउनु र बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु संविधानविपरीत छ । प्रतिपक्ष र सत्तापक्षको सहमतिबाट फिर्ता लिनुलाई मैले गम्भीर आपत्तिका रुपमा लिएको छु”, उहाँले भन्नुभयो, “कस्तो किसिमको संसदीय अभ्यासमा गइरहेका छौँ ? आउने पुस्तामा के हस्तान्तरण गरिरहेका छौँ ?”

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array