श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० असार २०८०, आईतवार
1 Min Read
Aa

चितवन, चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिबार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ गर्नुभयो । उहाँले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेको भन्दै पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको बताउनुभयो । उहाँले श्रमदानका लागि जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दालाई आह्वान गरिएको जानकारी दिनुभयो ।

“तीसदेखि ४० प्रतिशत श्रमदानबाट पुल निर्माणको काम गर्नेछौँ”, उहाँले भन्नुभयो, “प्राविधिक र निर्माण सामग्रीका लागि आवश्यक बजेट गाउँपालिकाले व्यवस्था गरेको छ ।” उहाँले पुल निर्माणका लागि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । असार महिनाभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको भन्दै उहाँले पालिकाले नियमित निगरानी गर्ने बताउनुभयो ।

यसअघि हरिपुर खोलामा राखिएको बेलीब्रिजको संरचना प्रयोग गर्ने गरी स्याङ्दी खोलमा पुल निर्माण गर्न लागिएको इच्छाकामना–७ का वडाध्यक्ष बमबहादुर रानामगरले जानकारी दिनुभयो । हरिपुर खोलामा अहिले पक्की पुल निर्माण भइसकेको छ । उहाँले बेलीब्रिज राख्नका लागि वडावासीले श्रमदान गर्ने बताउनुभयो । उहाँले पुल निर्माणपछि गर्दास र स्याङ्दीका बासिन्दा लाभान्वित हुने जानकारी दिनुभयो । हरेक वर्ष स्याङ्दी खोलामा आउने बाढीका कारण विद्यालय जाने विद्यार्थी र स्थानीयले सास्ती खेप्दै आउनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array