फर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० आश्विन २०८०, बुधबार
5 Min Read
Aa

काठमाडौं,  फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत मेला फर्नेक्स २०२३ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक कार्यक्रमका बिच उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पोको उदघाटन गरेका हुन् ।
एक्स्पोको उदघाटन गर्दौ उद्योगमन्त्री रिजालले मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताए । आयात मुलुकका लागि सुखद विषय नभएको बताएका उनले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि विद्यमान कानुनी व्यवस्था संशोधनका लागि सरकार तयारले पहलकदमी लिने आश्वासन दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले स्वदेशमा वर्षेनी अर्बौको काठ कुहिएर गइरहेको र फर्निचर तथा फर्निसिङका उत्पादन बनाउन विदेशी काठ आयात गर्नुपर्ने अवस्थालाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले उद्योग व्यवसायलाई सरकारले संरक्षण र सहयोग नगरेको भन्दै पछिल्ला दिनहरुमा अवलम्बन गरिएका नीति तथा व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग आग्रह गरे । उनले उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुग्दा मुखदर्शक भएर नबस्न पनि सरकारको ध्यानाकर्षण गराए ।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश कुमार अग्रवालले बैंक वित्तीय संस्थाले आफुखुसी तर्जुमा गर्ने नीति नियमका कारण उद्योग व्यवसाय धरापमा परेको भन्दै सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए । फर्निचरजन्य उद्योगलाई फरक व्यवहार गर्ने काम भएको भन्दै एकनाशको व्यवहार गर्न आग्रह गरेका उनले समग्र उद्योग क्षेत्रलाई घेराबन्दीमा पार्ने काम सरकारबाट नै भएको आरोप लगाए । निजी क्षेत्रको मनोबल बलियो बनाउँदै उद्योग व्यवसाय प्रवद्र्दनको काम गर्न सरकारसँग अग्रवालले आग्रह गरे ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसायीलाई स्वदेशी काठ खरिदका लागि लिलामीमा सहभागी हुन नपाउने व्यवस्था अव्यवहारिक भएको भन्दै विभेदकारी नीतिको अन्त्य गर्न माग गरे । बैंकको मोनोपोली, उद्योग सञ्चालन गर्ने स्थानको अभाव, तयारी वस्तुमाभन्दा कच्चा पदार्थमा लगाइएको अधिक भन्सारले उद्योग सञ्चालन गर्न असहज भएको उनको भनाई थियो ।
एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेश कुमार अग्रवालले अर्थतन्त्रमा महत्वपुर्ण योगदान पुर्याउँदै आएको फर्निचर तथा फर्निसिङ उद्योग र व्यवसायलाई सरकारले संरक्षण गर्न नसकेको बताएका थिए । उनले वर्षौ पहिले तर्जुमा भएका कानुन तथा नीति नियमलाई समय सापेक्ष सुधार गर्दै उद्योग व्यवसाय प्रवद्र्दन गर्न सरकारसँग आग्रह गरे । अर्थतन्त्र चलायमान बनाउन एक्स्पोको आयोजना गरिएको बताएका उनले राज्यले उद्योगी व्यवसायीसँग सहकार्य गर्दै आर्थिक कृयालाप बिस्तार गर्नुपर्नेमा जोड दिए ।
नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनामा “के हामी आत्मनिर्भर छौं ?” भन्ने थिममा सुरु भएको एक्स्पो ५ दिनसम्म चल्नेछ । एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ । त्यसै गरी प्रेष्टिज कार्पेट एशोसिएट पार्टनर रहेको एक्स्पोको पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्नचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रीज, सरावगी ओभरसीज र यती पोलिकेम रहेका छन् । इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन् ।
१०० भन्दा बढी स्टलहरु रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरुले आफ्ना उत्पादन तथा सेवाका बारेमा जानकारी तथा बिक्री बितरण गर्नेछन् । एक्स्पो स्थलमा नै सामान खरिद बिक्री गर्नका लागि खुल्ला बजार समेत सञ्चालन गरिएको छ भने अवलोकनकर्तालाई एक्स्पो निशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ ।
एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एशोसिएशनको विश्वास छ । ग्राहकहरुलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीद्धारा उत्पादित विभिन्न सामाग्रीहरु उपलब्ध गराउन यो एक्स्पो महत्वपुर्ण हुने अपेक्ष गरिएको छ । फर्निचर र फर्निसिङ सामग्रीका उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरुलाई साझा प्लेटफर्म प्रदान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुग्ने अपेक्षा सहित एक्स्पो आयोजना गरिएको हो ।
एक्स्पोमा सहभागि हुने व्यवसायीहरुले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पाउने छन् ।
नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवद्र्धनको अवर पाउने अपेक्षा पनि आयोजकको छ ।
५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array