सर्वोच्च अदालत १४ न्यायाधीशको भरमा ३० हजार ९ सय ४६ थान मुद्दा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ आश्विन २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं- न्यायाधीश अनिलकुमार सिन्हा सोमबारदेखि इजलासमा बस्न छाडेका छन्। २०७३ साउन १७ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका सिन्हाले उमेर हदले अवकाशमा जाने समय नजिकिएपछि इजलासबाट आफूलाई अलग गरेका हुन्। सिन्हाले कात्तिक १४ देखि अनिवार्य अवकाश पाउनेछन्। त्यसको एक महिना अघिदेखि उनले मुद्दा हेर्न छोड्ने निर्णय गरेका हुन्। अवकाश पाउनुभन्दा एक महिनाअघि बिदा बस्ने न्यायीक परम्परा नै हो। सोही परम्परा अनुसार नै सिन्हाले असोज १५ गतेदेखि आफूलाई इजलासबाट अलग गराएका हुन् ।  सिन्हा इजलासमा बस्न छाडेसँगै सर्वोच्च अदालतमा न्यायाधीशको संख्या १४ मा झरेको छ। सर्वोच्चमा सोमबारसम्मको तथ्यांक हेर्दा ३० हजार ९ सय ४६ थान मुद्दा सुनुवाइ गर्नुपर्नेछ। तीमध्ये ५ वर्ष पुराना मुद्दा पनि सर्वोच्चमा रहेका छन्। न्यायाधीश अभाव  हुँदा यी मुद्दाहरु पेसी चढ्ने अनि सुनुवाइ नहुने हुँदै आएको छ।

सिन्हा वाणिज्य र कर सम्बन्धी कानुनको विज्ञ न्यायाधीश मानिन्छन्। प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको फैसला गर्ने संवैधानिक इजलासका सदस्यमध्येका एक सिन्हा कानुन व्यवसायीबाट सर्वोच्च अदालतमा नियुक्त भएका थिए।  संविधानमा सर्वोच्च अदालतमा २१ जना स्थायी न्यायाधीश हुने उल्लेख छ। तर यो संख्या पूर्ति हुन सकेको छैन। सर्वोच्चमा नियुक्तिका लागि केही छलफल भए पनि न्याय परिषद्‌मा सहमति हुन सकेन। परिषद्‌का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले परिषद्‌को बैठकमा सर्वोच्चबाट नियुक्ति थाल्ने प्रस्ताव गरेका थिए। तर सदस्यहरुका बीचमा सर्वोच्चको हकमा सिफारिस गर्ने व्यक्तिहरुको नाममा सहमति नभएपछि जिल्ला र उच्च अदालतमा नियुक्ति भएको थियो।

सर्वोच्चमा नियुक्तिका लागि केही बैठकमा छलफल भएको तर सहमति नभएपछि थाती राखिएको थियो। प्रधानन्यायाधीश श्रेष्ठले नियुक्तिका लागि छलफल भने जारी नै राखेका छन्। तर सर्वोच्च अदालतमा नियुक्ति उच्च अदालतका न्यायाधीश मात्र गर्ने कि कानुन व्यवसायीलाई पनि सहभागी गराउने भन्ने विषयमा परिषद्‌मा विवाद भइरहेको छ।  परिषद्‌मा प्रधानन्यायाधीश अध्यक्ष, वरिष्ठतम न्यायाधीश, कानुन मन्त्री, प्रधानमन्त्रीको सिफारिसमा एक जना विज्ञ र नेपाल बारको सिफारिसमा एक जना विज्ञ सदस्य हुने संवैधानिक व्यवस्था छ। सर्वोच्चको न्यायाधीशको हकमा परिषद्‌ले नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ हुनुपर्नेछ। परिषद्‌ले पठाएको नाममा संघीय संसद्‌मा सुनुवाइ गरी विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्।   सिन्हा अवकाशमा गएपछि २१ जना न्यायाधीश रहने सर्वोच्च अदालतमा न्यायाधीशको संख्या १४ मा झरेको छ। पछिल्लो पटक विनोद शर्मा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array