‘म नेपालको मायामा परें, यहाँको शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र महिला सशक्तिकरणको क्षेत्रमा अझै धेरै काम गर्नुपर्नेछ’ : अमेरिकी प्राफेसर लरेन यान्क्स

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ बैशाख २०८१, शनिबार
6 Min Read
Aa

काठमाडौं,  द ब्लु बटरफ्लाई फाउण्डेशनकी संस्थापक तथा कार्यकारी निर्देशक लरेन यान्क्सले नेपालमा आगामी दिनमा शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र महिला सशक्तिकरणको क्षेत्रमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । विगत डेढ दशकदेखि नेपालमा समाजसेवा र महिला सशक्तिकरणको क्षेत्रमा सक्रियताका साथ काम गरेकी लरेनले छिट्टै नेपालमा आफ्नो संस्थाको अगुवाईमा सडक दुर्घट्नामा परेकाहरुको सुलभ उपचारको लागि सुविधासम्पन्न अस्पताल बनाउने पनि घोषणा गरिन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएकी हुन् । उनले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारिता क्षेत्रको प्रगतिको पनि कामना गरेकी छिन् । र, प्रेस स्वतन्त्रता सधैं सुनिश्चित् भएको र मिडियाको सशक्त भूमिकाको अपेक्षासमेत गरिन् ।
उनले भनिन्–‘म १५ वर्षअघि पहिलोपटक नेपाल आएकी थिएँ । म नेपाल आउनुको उद्देश्य नेपालमा हुने बालबालिका र महिलाहरुको बेचबिखनको बारेमा जान्नको लागि थियो । म नेपालमा पत्रकारको रुपमा आएको थिएँ । शिक्षाविद्को रुपमा आएको थिएँ । मैले धेरैलाई उद्धार गरेको थिएँ । नेपाल आएकै वर्ष म नेपालको मायामा परें । त्यतिवेलादेखि म यहाँ सक्रिय छु । नेपालको शिक्षामा धेरै नै सुधार गर्नुपर्छ भन्ने मेरो निश्कर्ष छ । बालिकाहरुको शिक्षाको लागि धेरै नै प्रोत्साहनका काम गर्नुपर्नेछ । जुन हामीले आफ्नो फाउण्डेशनको माध्यमबाट गरिरहेका पनि छौं । अझै पर्याप्त छैन् । धेरै गर्नुछ ।’
सो क्रममा उनले बालिका र महिलाहरुलाई शिक्षाको महत्व बुझाउन सकिए समाज र देशको लागि पनि शुभ र फलदायी हुने विश्वास व्यक्त गरिन् । उनले महिलाहरुलाई शिक्षित बनाउन सकियो भने समाजमा सशक्तिकरणको आवाज बलियो हुने अनि महिला शिक्षित भए भने भ्रष्टाचार पनि कम हुने तथ्य सुनाईन् ।
उनले कोभिडभन्दा पहिले आफू नेपालमा दुई वर्ष लगातार बसेको र समाजसेवामा संलग्न भएको सुनाईन् । नेपाल बसाईको अनुभव साझा गर्दै उनले भनिन्–‘त्यतिवेला अति विपन्न र निमुखाहरुको शिक्षाको लागि काम गरेको थिएँ । तर, पछि कोभिडको महामारी आयो म यहाँ आउन पाईनँ । अमेरिकाको न्यूयोर्कमा रहेका नेपाली आप्रावासीहरुसँग मिलेर काम गरें । विशेषतः महिलाहरुसँग मिलेर काम गरेको छु । त्यहाँ दुःखमा रहेका नेपाली महिला आप्रावासीहरुको लागि भाषा, प्रशिक्षण, अमेरिकी संस्कृति, लिगल हेल्प, मेन्टल हेल्थबारे काम गरेको छु । अप्ठ्यारोमा परेका नेपालीहरुलाई माथि उठाउनको लागि पनि काम गरेको छु ।’
उनले आफूले युवा पुस्तालाई देशको नेतृत्वमा पुर्याउनेगरि काम गरेको पनि स्मरण गराईन् । उनले थपिन्–‘नेपालको भविष्यको नेता बनाउनको लागि पनि काम गरेको छु । चार जना बच्चाहरुलाई राम्रो शिक्षाको लागि लगेको छु । दुई जना मसँग बस्छन् । उनीहरु मानवअधिकारसम्बन्धीत अधिवक्ता बन्दैछन् । एक जना हावर्डमा क्यान्सर सेन्टर चलाईराखेका छन् । बृहत्तर न्याय, लैङिक समानता, महिला सशशिक्तकारण्को लागि काम गर्नको लागि दुई चेलीले काम गर्दैछन् ।’
सामाजिक कामको लागि विश्वमा यति धेरै देश हुँदापनि नेपाल नै किन रोज्नुभयो भन्ने पत्रकारको जिज्ञासामा उनले आफूले नेपाल रोजेको नभएर नेपालले आफूलाई रोजेको भन्दै रमाईलो जवाफ दिईन् । उनले भने,‘समाजसेवाको लागि मैले होईन नृेपालले मलाई रोज्यो । म सुरुदेखि नै बालबालिका र महिला अधिकारको बारेमा अध्ययन गर्न रुचाउँथे । म हिन्दू संस्कार अनि सभ्यताको बारेमापनि पढ्न रुचि राख्थें । दक्षिण एशियाको सभ्यताबारे पनि अध्ययन गर्न रुचाउँथे । नेपाल भारत र चीनको बीचमा रहेको सानो देश हो । म यहाँ किन आएँ, यो आँफैमा आश्चर्यको विषय हो । तर, म यहाँ आउन पाएँ । म भाग्यमानी हुँ । यो देश मेरो घर हो । मैले विश्व घुमेको छु । पूर्वजन्मको कारणले पनि हुनसक्छ, म यहाँ आएँ । नेपालीहरु मैले खुला हृदयको पाएँ । सबैबाट माया पाएको छु ।’
उनले सामाजिक कार्यलाई निरन्तरता दिनको लागि आफूले शैक्षिक संस्थापनि खोलेको र कलेजले लिवरल आर्टस अध्यापन गराइरहेको जानकारी दिईन् । उनले भनिन्,‘मैले रिसर्च सेन्टर न्यूयोर्कमा खोलें । त्यसले राम्रो काम गरिरहेको छ । नेपालमा शैक्षिक संस्था खोलेको छु, जहाँ लिवर आर्टुस पढाई हुन्छ ।’
उनले कोस्टारिकामा वातावरणसम्बन्धी अध्ययन गरेकी आफ्नी छोरी सडक दुर्घटनामा परेर निधन भएपछि समाजसेवामा सक्रिय भएको विगत स्मरण गराईन् । छोरीको निधन सडक दुर्घटनामा परेर भएकै कारण नेपालमा पनि दुर्घटनासम्बन्धी उपचार हुने अस्पताल खोल्ने सोच बनाएको उनको भनाई छ । उनले रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलासँग अस्पताल खोल्ने विषयमा बृहत्तर छलफल र सहकार्य गरेर अघि बढ्ने सुनाईन् । उनले भनिन्,‘हामी त्यो अस्पताल नेपालमा बढि सडक दुर्घटना हुने ठाउँमा खोल्ने सोचमा छौं । आउने वर्षबाट यो प्रोजेक्ट अघि बढाउने सोचेका छौं ।’
सो क्रममा उनले अमेरिकामा प्रेस स्वतन्त्रता रहेको सुनाईन् । आजको दिनमा सोसल मिडियाको पनि महत्वपूर्ण भूमिका रहेको उनको भनाई छ । उनले भनिन्,‘अहिले आवाजविहीनहरुको लागि सामाजिक सञ्जाल राम्रो माध्यम भएको छ ।’ जलवायु परिवर्तन, माइग्रेसन, टेक्नोलोजीको कारण विश्वमा धेरै कुरा छिटो छिटो परिवर्तन भैरहेको भन्दै ती क्षेत्रमा पूरा विश्वले गम्भीर ढंगले काम गर्नुपर्ने बेला आएको पनि उनले आवश्यकत्ता औंल्याईन् । उनले आलोचनात्मक चेत राख्न, आउट अफ द बक्स भएर सोच्न अनि रचनात्मक बन्न नेपाली पत्रकारहरुलाई सुझाव दिईन् । कसैले गर्न नसकेको काम गर्न पनि उनको सुझाव थियो ।
उनले आफ्नो फाउण्डेशनले आगामी दिनमा नयाँ पिढीँहरुलाई हौसला प्रदान गरी अब्बल बन्नको लागि मद्दत गर्नेपनि घोषणा गरिन् । साथै, अमेरिकामा बस्दै आएका नेपाली आप्रावासी जनसंख्याको उत्थानमा फाउण्डेशन सधैं सक्रिय हुने उनले विश्वास दिलाईन् । लरेनले येल विश्वविद्यालयबाट दर्शनशास्त्र (फिलोसपी) मा डिग्री गरेकी हुन् । यस्तै, न्यूयोर्क विश्वविद्यालयबाट लेखन तथा पत्रकारिता विषयमा पनि उनको मास्टर्स डिग्री छ । उनी मुख्यतः अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

Array