नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–८, थानापतिस्थित प्रसिद्ध थानापति मन्दिर परिसरमा हरितालिका तीजको अवसर पारेर विशेष दरखाने तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
स्थानीय कला, संस्कृति र मौलिक परम्पराको संरक्षणसँगै तीज पर्वलाई सामूहिक रूपमा मनाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा वरिष्ठ कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रम भदौ २० गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा तीजसँग सम्बन्धित गीत, संगीत तथा सांस्कृतिक प्रस्तुति रहनेछन्। स्थानीय महिला तथा समुदायको सहभागितालाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको कार्यक्रममा मनोरञ्जनसँगै आपसी सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रम स्थानीय हरि सिलुवाल, मनिका थपलिया, पाण्डेलगायतको पहलमा आयोजना हुन लागेको हो। यसमा नेपाल महिला संघ, शिवपुरीकी अध्यक्ष पार्वती थपलिया लगायत स्थानीय अगुवाहरूको समेत सक्रिय सहकार्य रहेको जनाइएको छ।
तीजका अवसरमा पछिल्लो समय मौलिक संस्कृति र परम्पराभन्दा मनोरञ्जनात्मक गतिविधि हाबी हुँदै गएको अवस्थामा थानापति मन्दिर परिसरमा आयोजना हुन लागेको कार्यक्रमले स्थानीय कला–संस्कृति र सामाजिक एकतालाई समेत जोड दिने आयोजकहरूको विश्वास छ।
आयोजकले शिवपुरी तथा आसपासका क्षेत्रका महिला, स्थानीय बासिन्दा, कलाकार, संस्कृति प्रेमी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई तीजको उल्लास साटासाट गर्न आग्रह गरेका छन्। कार्यक्रमले थानापति क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्