भक्तपुरमा आज पाँचौँ अरुण थापा स्मृति साँझ हुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ श्रावण २०७९, शनिबार
2 Min Read
Aa

भादगाउँ, नेपाली सुगम आधुनिक सङ्गीतका एक अमर गायक तथा सङ्गीतकार अरुण थापाको ‘२३ औँ स्मृति दिवस २०७९’का अवसरमा भक्तपुर साङ्गीतिक समाजको आयोजनामा ‘अरुण थापा स्मृति साँझ’ हुने भएको छ । समाजले थापाको स्मृतिमा लगातार पाँचौँ पटक स्मृति साँझ आयोजना गर्न लागेको हो ।

कार्यक्रममा भक्तपुरका स्थानीय कलाकारले स्व थापाका गीत गुनगुनाउने छन् । कार्यक्रममा सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोदराज ढुङ्गेल, आधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यले स्व थापाका गीत गाउने आयोजक समाजका अध्यक्ष प्रवीण शाहीले बताउनुभयो ।

त्यसैगरी वाद्यवादनमा गायकलाई कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य र यजु आर्चाले वाद्यवादनमा साथ दिनेछन् । कार्यक्रमलाई सिद्धि स्मृति प्रतिष्ठान, अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल, गुडविल कन्सन्टको सहयोग रहेको छ भने कार्यक्रमको रेडियो पार्टनर भक्तपुर एफएम १०५.४ मेघाहर्ज, टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, मिडिया पार्टनर न्यूज अफ साप्ताहिक, फोटोग्राफी पार्टनर पिक्सेल्स इन्ग्राभर्स र साउण्ड पार्टनर आराधना सङ्गीत समूह रहेका छन् ।

वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा वरिष्ठ गीतकार दिनेश अधिकारीलाई ‘अरुण थापा स्मृति सम्मान २०७९’ले सम्मान गरिने समाजका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको शाहीले बताउनुभयो । कोरोना महामारीका कारण विगत दुई वर्ष कार्यक्रमलाई औपचारिकतामा सीमित गरिएको जानकारी दिँदै शाहीले यस वर्ष बृहत्रुपमा कार्यक्रम सम्पन्न गर्ने तयारी भएको बताउनुभयो । कार्यक्रम अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल सल्लाघारीको प्राङ्गणमा हुनेछ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array