सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० असार २०८०, शनिबार
4 Min Read
Aa

काठमाडौँ, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित रहेको बताउनुभएको छ । नेपालमा उत्पादित पशुआहार ९हाइलेज० पहिलो पटक चीन निर्यात गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो मूल सत्रका रुपमा लिएर यसको आधारमा कामलाई अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “ समृद्धिको कार्यभार पूरा गर्नका निम्ति हामीले हाम्रो देशको व्यापार घाटालाई कम गर्ने र त्यसका निम्ति आयात प्रतिस्थापन गरेर निर्याततर्फ काम गर्नुपर्छ ।”

पशु आहार चीन पठाउने कामको आरम्भ भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यथास्थितिमा बसिरहेर हुँदैन । विकासको काम गर्दै व्यापार घाटा कम गर्न भाषण गरेर समस्याको समाधान हुँदैन ।” भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसँगै सुशासन कायम गर्नुपर्नेमा उहाँको जोड थियो । व्यापार घाटा कम गर्ने र सफल रुपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्ने तिर लान जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

उहाँले भन्नुभयो, “यसमा अगाडि बढ्ने क्रममा पशुआहार निर्यातको प्रक्रिया सुरु गरेका छौँ । यो एउटा राम्रो अवसर हो ।” सरकारका तर्फबाट गर्नुपर्ने अन्य सहयोगका लागि सधैँ तयार रहेको उहाँको भनाइ थियो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादनलाई बढाएर निर्यात गर्न सकेमा देशको अर्थतन्त्र बलियो बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि उत्पादन बढाउन सकेमा देशको अर्थतन्त्र बलियो हुन्छ ।” नेपालमा घाँस उत्पादन गरेर चीन निर्यात गर्न सफल भएको भन्दै उहाँले बाँझो जमिनमा घाँस उत्पादन गर्न सकिने बताउनुभयो ।

नेपाली कृषिजन्य उत्पादन बढाएर निर्यातका लागि विभिन्न अवसरको खोजी गर्नुपर्ने उहाँको भनाइ थियो । सन् २००१ मै नेपाल र चीनबीच कृषिमा सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको स्मरण गर्दै उहाँले त्यसयताका दिनमा सहयोग आदानप्रदान हुँदै आएको बताउनुभयो । यहाँ उत्पादित पशुआहारलाई चीन पठाउने विषयमा सन् २०२२ मै सम्झौता भएको उहाँले स्मरण गराउनुभयो । चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको भन्दै मन्त्री भुसालले आगामी दिनमा अझ सुमधुर हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो भएको भन्दै आजदेखि चीन नेपालबाट पशु आहार जान सुरु गरेकामा खुसी प्रकट गर्नुभयो । गुणस्तरीय उत्पादनमा जोड दिँदै उहाँले चिनियाँ बजार ठूलो भएकाले उत्पादन बढाउन सुझाव दिनुभयो । दुई देशबीचको व्यापारिक सम्बन्ध पनि निकै राम्रो भएको उहाँको भनाइ छ ।

सो अवसरमा उद्योग सचिव मधु मरासिनीले नेपालमा ६२ प्रतिशत कृषिमा निर्भर रहेको उल्लेख गर्दै नयाँ प्रविधि भित्र्याएर उत्पादन बढाई निर्यातमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो पेसालाई व्यावसायिक बनाएर अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा चीनको सिगात्से सहरका उपप्रमुख लिउ हउ झोङले भरतपुर महानगरसँग यसअघि नै भगिनी सम्बन्ध कायम भएको जिकिर गर्दै यहाँबाट पशुआहार लैजान सुरु गरिएकामा खुसी व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले यहाँ उत्पादित पशुआहार चीनको सिगात्से पठाउन पाएकामा महानगरले गर्व गरेको बताउनुभयो । आउँदा दिनमा गुणस्तरीय र ठूलो परिणाममा पशु आहार पठाउन सकिने उहाँको विश्वास थियो ।

प्रतिक्रिया दिनुहोस्

Array