काठमाडौं, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई नेपालको राजनीतिक परिवर्तनको ऐतिहासिक आधार र राष्ट्रिय एकताको महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरेका छन्।विस्तृत शान्ति सम्झौताको २०औँ वर्षगाँठका अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै प्रचण्डले सम्झौतामा उल्लेखित बाँकी प्रतिबद्धता पूरा गर्नुका साथै द्वन्द्वपीडितलाई न्याय दिलाउनु सबै पक्षको साझा दायित्व भएको बताएका छन्।
२०६३ मंसिर ५ गते नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको थियो। उक्त सम्झौताले देशलाई सशस्त्र द्वन्द्वबाट शान्ति, लोकतन्त्र र संघीय गणतन्त्रको मार्गमा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको प्रचण्डको भनाइ छ।तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्षका रूपमा आफूले सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै उनले यसलाई दुई राजनीतिक पक्षबीचको सहमतिमा मात्र सीमित नभई नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्माण भएको राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा उल्लेख गरेका छन्।
उनका अनुसार विस्तृत शान्ति सम्झौताको आधारमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्रको विकास तथा नयाँ संविधान निर्माणजस्ता महत्वपूर्ण उपलब्धि हासिल भएका हुन्।
यद्यपि, सम्झौतामा गरिएका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनले स्वीकार गरेका छन्। द्वन्द्वपीडितलाई न्याय प्रदान गर्ने, सत्य निरुपण तथा मेलमिलापको प्रक्रिया टुंग्याउने, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने तथा संक्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्नुपर्नेमा उनले जोड दिएका छन्।‘शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्यमा मात्र सीमित छैन। यसको उद्देश्य पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु पनि हो,’ उनले वक्तव्यमा उल्लेख गरेका छन्।
संक्रमणकालीन न्याय प्रक्रियालाई पीडितको भावना, आवश्यकता र विस्तृत शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्याउनु अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता भएको पनि प्रचण्डले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्