काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सरकारको निर्णयबाट प्रहरी प्रमुखको जिम्मेवारीबाट मुक्त भएपछि कार्कीले गत कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सुरुमा तिहार बिदाका कारण कात्तिक ३० गतेका लागि पेसी तोकिए पनि छठ पर्वको बिदा थपिएपछि सुनुवाइ स्थगित भएको थियो। त्यसपछि बुधबारका लागि नयाँ पेसी निर्धारण गरिएको कार्कीका कानुन व्यवसायीले जानकारी दिएका छन्।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। साथै, कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को विशेष सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी दिने निर्णयसमेत सरकारले गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका कार्कीले आफूलाई पूर्वजानकारी नदिई र आफ्नो धारणा राख्ने अवसरसमेत नदिई पदबाट हटाइएको जिकिर गरेका छन्।
रिट निवेदनमा उनले एआईजी केसीलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने तथा दर्ज्यानी चिह्न प्रदान गर्नेलगायत सरकारका निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न माग गरेका छन्। आफूलाई जिम्मेवारीबाट मुक्त गर्दा कार्यसम्पादन, आचरण, क्षमता वा योग्यतासम्बन्धी कुनै आरोप तथा कारण स्पष्ट रूपमा नखुलाइएको दाबी पनि कार्कीले रिट निवेदनमा गरेका छन्।


प्रतिक्रिया दिनुहोस्