काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, ऊर्जा व्यापार, पूर्वाधार विकास तथा अन्य महत्त्वपूर्ण विषयमा छलफल हुने तयारी छ ।
प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् । दिल्ली विमानस्थलमा उनलाई भारत सरकारका एक केन्द्रीय मन्त्रीले स्वागत गर्ने कार्यक्रम छ ।
नयाँदिल्ली पुगेपछि प्रधानमन्त्री शाहले भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । सोही दिन साँझ नेपाली राजदूतावासले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछ ।
प्रधानमन्त्री शाहको बसोबास नयाँदिल्लीस्थित ताजमान सिंह वा ताज प्यालेस होटलमध्ये एकमा हुने तयारी छ । भारतीय विदेशमन्त्री जयशंकर, गृहमन्त्री अमित शाह र राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री बसेकै होटलमा भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
राष्ट्रपति भवनमा गार्ड अफ अनर, मोदीसँग द्विपक्षीय वार्ता
भ्रमणको दोस्रो दिन मंसिर ७ गते बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर प्रदान गरिनेछ । उक्त समारोहमा भारतीय प्रधानमन्त्री मोदीसमेत सहभागी हुनेछन् । त्यसपछि प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।
त्यसपछि उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । अर्थमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच हैदरावाद हाउसमा औपचारिक द्विपक्षीय वार्ता हुनेछ ।
सुरुमा दुवै प्रधानमन्त्रीबीच सीमित प्रतिनिधिमण्डलसहित ‘वान प्लस फोर’ ढाँचामा छलफल हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलका सदस्य सहभागी हुने ‘वान प्लस फोर्टिन’ ढाँचामा विस्तारित वार्ता हुनेछ ।
ऊर्जा, पूर्वाधार र हवाई रुट विस्तार मुख्य एजेन्डा
प्रधानमन्त्री शाहको भारत भ्रमणको सबैभन्दा महत्त्वपूर्ण कार्यक्रमका रूपमा मोदीसँगको द्विपक्षीय वार्तालाई हेरिएको छ । वार्तामा दुई देशबीचको आर्थिक सहकार्य, हवाई रुट विस्तार, ऊर्जा व्यापार, पूर्वाधार विकास, रेलमार्ग तथा लामो समयदेखि समाधान हुन नसकेका द्विपक्षीय मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ ।
नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहमति जुटाउने उद्देश्यले विभिन्न प्रस्ताव र सम्भावित सम्झौताबारे पनि छलफल हुने तयारी छ ।
द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । त्यसपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । भ्रमणका उपलब्धिबारे भारतीय विदेश सचिव विक्रम मिस्रीले सञ्चारमाध्यमलाई जानकारी गराउनेछन् ।
भारतीय सहयोगमा बनेका आयोजनाको संयुक्त उद्घाटन
भ्रमणका क्रममा नेपालमा भारतीय सहयोगमा निर्माण सम्पन्न भएका केही आयोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारीसमेत गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका १५ जना अधिकारीको आवास, खानपान तथा व्यवस्थापन खर्च भारत सरकारले बेहोर्नेछ । भ्रमण टोलीका अन्य सदस्यको खर्च भने नेपाल सरकारले व्यहोर्ने गरी व्यवस्था मिलाइएको छ ।
दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते दिउँसो ४ः५० बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्