तराई–मधेसदेखि पहाडसम्म छठको रौनक, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Sagarmatha Post
Sagarmatha Post २९ कार्तिक २०८३, आईतवार
3 Min Read
Aa

काठमाडौं । सूर्य उपासनाको महापर्व छठ आज देशभरका नदी, खोला, पोखरी तथा जलाशयका किनारमा श्रद्धा र उल्लासका साथ मनाइँदै छ। चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने यस पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दैछन्। बिहानैदेखि देशभरका नदी तथा जलाशयका किनारमा पूजाआराधना गर्ने भक्तजनको बाक्लो उपस्थिति देखिएको छ।

विशेषगरी तराई–मधेसका जिल्लामा छठको रौनक बढी देखिएको छ। धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामस्थित गंगासागरलगायतका पोखरी र घाटहरूलाई आकर्षक रूपमा सजाइएको छ। घाटहरूमा गरिएको झिलिमिली सजावट, पूजासामग्री र भक्तजनको भीडले सम्पूर्ण वातावरण छठमय बनेको छ।

ऐतिहासिक तथा पौराणिक महत्त्व

लोकसंस्कृति र प्रकृतिको उपासनासँग जोडिएको छठ पर्वको ऐतिहासिक तथा पौराणिक महत्त्व विशेष रहेको छ। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेको धार्मिक विश्वास छ। उनीहरू विराट राजाको दरबारमा गुप्तवास बसेका बेला सूर्यको उपासना गरेको प्रसङ्गलाई छठ पर्वको परम्परासँग जोडेर हेर्ने गरिन्छ।

त्यसैगरी, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले अटल सौभाग्य र पतिप्रेमको कामना गर्दै छठ व्रत गरेको उल्लेख पाइन्छ। यसै परम्पराबाट छठ व्रतको प्रचलन सुरु भएको धार्मिक विश्वास रहिआएको छ।

विज्ञान, स्वास्थ्य र प्रकृतिको उपासना

छठ पर्व धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। यो प्रकृति र सूर्यप्रतिको सम्मान तथा कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा समेत परिचित छ। पृथ्वीमा जीवनको अस्तित्व कायम राख्न सूर्यको प्रकाश र ताप अपरिहार्य मानिन्छ। वनस्पति, रुखबिरुवा तथा सम्पूर्ण जीवजन्तुको जीवनचक्रमा सूर्यको महत्त्वपूर्ण भूमिका रहेको छ।

सूर्यको प्रकाशले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावलाई पनि यस पर्वसँग जोडेर व्याख्या गरिन्छ। पौराणिक मान्यताअनुसार भगवान् श्रीकृष्णका पुत्र साम्बले श्रापका कारण कुष्ठरोगबाट पीडित भएपछि सूर्यदेवको आराधना गरी रोगबाट मुक्ति पाएका थिए। यसले सूर्य उपासनाको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको छ।

जनविश्वास र पारिवारिक कल्याण

छठ पर्वमा श्रद्धापूर्वक व्रत तथा पूजा गर्नाले दुःख, कष्ट र दरिद्रताबाट मुक्ति मिल्ने जनविश्वास छ। यस अवसरमा प्रकृतिमा उपलब्ध फलफूल, उखु, नरिवललगायतका सामग्री सूर्यदेवलाई अर्पण गर्ने परम्परा छ। यसरी पूजा गर्दा परिवारका सदस्य तथा सन्तानको सुख, शान्ति, समृद्धि र कल्याण हुने धार्मिक मान्यता रहिआएको छ।

विभिन्न कारणले आफैँ व्रत बस्न नसक्ने व्यक्तिले पनि अन्य व्रतालुमार्फत आफ्नो मनोकामना पूरा गर्ने परम्परा छ। यसले छठ पर्वको सामूहिक, सामाजिक र सांस्कृतिक महत्त्वलाई समेत प्रतिबिम्बित गर्दछ।

प्रकृति र सूर्यको उपासनामा आधारित छठ पर्वले पारिवारिक एकता, आपसी सद्भाव, सामाजिक सहिष्णुता तथा सांस्कृतिक एकतालाई बलियो बनाउँदै आएको छ। धार्मिक आस्था र सामाजिक सद्भावको प्रतीकका रूपमा स्थापित यो पर्वले समाजमा सहकार्य, एकता र भाइचाराको सन्देशसमेत प्रवाह गर्दै आएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्