चीन जाने सांसदलाई भ्रमण घुमघाममा मात्र सीमित नराख्न प्रधानमन्त्रीको आग्रह

Sagarmatha Post
Sagarmatha Post २७ कार्तिक २०८३, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय प्रतिनिधिमण्डललाई भ्रमणलाई औपचारिकतामा सीमित नराखी आर्थिक सहकार्य र विकासका नयाँ सम्भावना पहिचान गर्न निर्देशन दिएका छन्।शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिमण्डलसँग भएको छलफलमा प्रधानमन्त्री शाहले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउन भ्रमण उपलब्धिमूलक हुनुपर्नेमा जोड दिएका हुन्।

रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्रीले चीनसँग व्यापार, व्यवसाय, प्रविधि, पर्यटन र कृषिलगायतका क्षेत्रमा सहकार्य विस्तार गरी नेपालले अधिकतम लाभ लिनुपर्ने धारणा व्यक्त गरेका थिए।त्यसैगरी, चीनले प्रविधि, आर्थिक विकास र अन्य क्षेत्रमा हासिल गरेको उपलब्धिबाट नेपालले सिक्न सक्ने विषयलाई भ्रमणको प्राथमिकतामा राख्न पनि प्रधानमन्त्रीले सुझाव दिएका थिए।

‘नेपाल र चीनबीचको सम्बन्धलाई थप मजबुत बनाउन यो भ्रमण फलदायी हुनुपर्छ। भ्रमण केवल घुमघाममा सीमित नभई आर्थिक साझेदारी र विकासका सम्भावना खोज्न केन्द्रित हुनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बुर्लाकोटीले बताए।छलफलका क्रममा भ्रमणमा उठाइने एजेन्डा, नेपाल–चीन कूटनीतिक सम्बन्ध, आर्थिक साझेदारी तथा विकासका सम्भावनाबारे समेत विचारविमर्श भएको थियो।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय संसदीय प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्ने कार्यक्रम छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका स्थानको भ्रमण गर्नेछ।भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सरकारी सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा अनुभव आदानप्रदान गरिने जनाइएको छ।

प्रतिनिधिमण्डलमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा सहभागी हुनेछन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्