महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । चार दिनसम्म मनाइने यस पर्वको दोस्रो दिन आज बर्तालुहरू ‘खरना’ विधिको तयारीमा जुटेका छन् । यसअघि पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै बर्तालुहरूले व्रतको सङ्कल्प गरेका थिए ।
छठ पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिमा बर्तालुहरूले बिहान पवित्र स्नान गरी दिनभरि निराहार व्रत बस्ने परम्परा छ । साँझ चन्द्रदर्शन गरेपछि सख्खर, दूध र चामलबाट तयार पारिएको खीर कुलदेवता तथा छठी मातालाई अर्पण गरिन्छ । त्यसपछि बर्तालुहरूले उक्त खीर प्रसादका रूपमा ग्रहण गर्छन् । मैथिली भाषामा यस विधिलाई ‘खरना’ भनिन्छ ।
मिथिलामा छठ पर्वलाई लोकआस्थाको महापर्वका रूपमा लिइन्छ । श्रद्धा, निष्ठा, समर्पण र आत्मशुद्धिलाई यस पर्वका प्रमुख पक्ष मानिन्छन् । खरना विधिका लागि माटोको नयाँ चुलो र माटाकै भाँडामा सख्खर, दूध तथा स्थानीय जातको धानको चामल प्रयोग गरी खीर पकाउने चलन छ । उक्त खीर केराको पातमा राखेर छठी मातालाई अर्पण गरिन्छ । त्यसपछि बर्तालु तथा परिवारका अन्य सदस्यले प्रसादका रूपमा ग्रहण गर्छन् ।
पर्वको तेस्रो दिन बर्तालुहरू निराहार व्रत बसेर साँझ जलाशयमा बनाइएका आकर्षक घाटमा पुग्छन् । कम्मरसम्म पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्ने परम्परा छ । मिथिलामा यस विधिलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।
त्यसैगरी, पर्वको अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य अर्पण गरेपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ्य दिने क्रममा जटासहितको नरिवल, ठकुवा, भुसुवालगायतका मिष्ठान्न परिकार तथा केरासहित विभिन्न फलफूल सूर्यदेवलाई अर्पण गर्ने चलन छ ।
छठ पर्वका लागि विशेष रूपमा तयार पारिने ठकुवा, भुसुवालगायतका परिकार आफन्त तथा इष्टमित्रलाई घरमै बोलाएर खुवाउने र नातेदारका घरमा पुर्याउने परम्परा पनि छ । यी परिकार ढिकी–जाँतोमा कुटेर तथा पिसेर तयार पारिएको पिठोबाट बनाइन्छन् । पर्वका अवसरमा अर्घ्य अर्पण गर्न जलाशयका किनारमा आकर्षक घाट निर्माण गरी सजाउने गरिन्छ ।
केही वर्षअघिसम्म मधेसी हिन्दू समुदायमा मात्र बढी प्रचलित रहेको छठ पर्व अहिले पहाडी हिन्दू समुदायले पनि उत्साहपूर्वक मनाउन थालेका छन् । मिथिला क्षेत्रमा इस्लाम धर्मावलम्बीहरूले समेत बर्तालुहरूलाई अर्घ्यका बेला सूर्यदेवसमक्ष आफ्नो भाकल प्रस्तुत गरिदिन अनुरोध गर्ने गरेका छन् । यसले छठ पर्वलाई धार्मिक तथा सामुदायिक सद्भावको साझा पर्वका रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ ।
पर्वमा विभिन्न धर्म, संस्कृति र जातजातिका मानिस सहभागी हुने भएकाले छठ मिथिलाको लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको भङ्गाहा–५ सीतापुरस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोहरप्रसाद यादव बताउनुहुन्छ । सबै समुदायको साझा आस्थाको पर्व बन्दै गएकाले यसलाई लोकआस्थाको महापर्व भनिएको उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्