काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँ उपत्यकाका चार नारायणसहित देशभरका विभिन्न नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ। सोही विश्वासअनुसार भगवान् विष्णुको पूजा, आराधना तथा दर्शनका लागि बिहानैदेखि नारायण मन्दिरहरूमा भक्तजनको भीड लागेको हो।
उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा विशेष चहलपहल देखिएको छ। यी चार मन्दिरलाई सामूहिक रूपमा चार नारायण भनिन्छ। हरिबोधिनी एकादशीका दिन चारै नारायणको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले टाढाटाढाबाट समेत भक्तजन आउने गरेका छन्।चार नारायणको दर्शन गर्न नसक्ने भक्तजनले उत्तरी काठमाडौँस्थित बूढानीलकण्ठ नारायणस्थानमा पुगेर पूजा तथा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। बूढानीलकण्ठमा एउटै विशाल ढुङ्गामा भगवान् विष्णु र शिवको स्वरूप स्थापित गरिएको छ।
बूढानीलकण्ठ नारायणस्थानका महन्त निगमानन्द स्वामीका अनुसार मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको आगमन सुरु भएको थियो। भक्तजनको चापलाई ध्यानमा राख्दै बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति १ः३० बजेदेखि नै मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो।यस वर्ष बूढानीलकण्ठमा पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ। बिहान ६ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजाआजा तथा दर्शन गरिसकेको महन्त स्वामीले जानकारी दिनुभयो।
मठका अनुसार बिहान १ः३० बजेदेखि सवा ८ बजेसम्म विशेष पूजाका लागि मन्दिर दर्शनार्थीका निम्ति बन्द गरिने कार्यक्रम रहेको छ। बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा अर्थात् मङ्सिर ८ गतेसम्म विशेष मेला सञ्चालन हुनेछ।जलाशयमाथि शयन गरिरहनुभएको भगवान् नारायणको अलौकिक मूर्ति बूढानीलकण्ठको प्रमुख धार्मिक तथा पर्यटकीय आकर्षण हो। उक्त मूर्तिको दर्शनका लागि आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेका छन्।
हरिबोधिनी एकादशीको अवसरमा मठले प्रत्येक वर्ष श्रीमद्भागवत कथा वाचनसमेत आयोजना गर्दै आएको छ। यस वर्ष मङ्सिर २ गतेदेखि सुरु भएको महायज्ञ तथा धार्मिक महोत्सव मङ्सिर ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ।यसैगरी, नारायणहिटी दरबार क्षेत्रस्थित चतुर्व्यूह नारायण मन्दिर, हाँडीगाउँ, हनुमानढोका दरबार क्षेत्र तथा पशुपति क्षेत्रका नारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ। गोकर्णेश्वर नगरपालिकास्थित नारायणटारको नारायण मन्दिरलगायत उपत्यका तथा उपत्यकाबाहिरका विभिन्न नारायण मन्दिरमा समेत बिहानैदेखि पूजा, आराधना र दर्शनका लागि भक्तजन जम्मा भएका छन्।


प्रतिक्रिया दिनुहोस्