२७ देशका ३५० भन्दा बढी विज्ञ सहभागी हुने १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि

Sagarmatha Post
Sagarmatha Post ३ मंसिर २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। समाजका महासचिव शिवकुमार बाँस्कोटाका अनुसार सम्मेलन मङ्सिर ३ देखि ५ गतेसम्म सञ्चालन हुनेछ।अन्तर्राष्ट्रियस्तरको उक्त सम्मेलनमा २७ देशका ३५० भन्दा बढी भूगर्भविद्, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विषयविज्ञहरूको सहभागिता रहनेछ। सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम तय गरिएको छ।

हिमालय क्षेत्रको भूगर्भीय अवस्था, भूगर्भ विज्ञानका नवीनतम अनुसन्धान तथा उपलब्धि, प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र पर्वतीय क्षेत्रको दिगो विकाससम्बन्धी वैज्ञानिक ज्ञान तथा अनुभव आदानप्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ।सम्मेलनमा विभिन्न विषयगत क्षेत्रका १७० वटा वैज्ञानिक प्रस्तुति समेटिनेछन्। त्यस्तै, सातवटा मुख्य सत्र र पाँचवटा विशेष वैज्ञानिक सत्र सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रममा विश्वविद्यालय, सरकारी निकाय, विकास साझेदार संस्था तथा विभिन्न व्यावसायिक र प्राज्ञिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

सम्मेलनका क्रममा भूगर्भ विज्ञानसँग सम्बन्धित प्रविधि, उपकरण तथा सेवा प्रदान गर्ने संस्थाहरूले आफ्ना उत्पादन र सेवाबारे जानकारी गराउन प्रदर्शनी कक्षसमेत सञ्चालन गर्नेछन्। सम्मेलनले हिमालय क्षेत्रको भूगर्भीय अनुसन्धानलाई थप सुदृढ बनाउनुका साथै भू–विपद् जोखिम न्यूनीकरण, पूर्वाधार विकास, खनिज तथा प्राकृतिक स्रोतको दिगो उपयोग र नीतिगत निर्णय प्रक्रियामा वैज्ञानिक ज्ञानको प्रभावकारी प्रयोगलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्