रास्वपाको विवादमा चासो छैन, प्रतिपक्षी भूमिका प्रभावकारी बनाउँछौँ : गगन थापा

Sagarmatha Post
Sagarmatha Post ८ मंसिर २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएका आन्तरिक विवाद तथा समस्यामा कांग्रेसले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्। मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले रास्वपाको आन्तरिक मामिलामा कांग्रेसको कुनै चासो नरहेको बताएका हुन्।

पार्टीको महाधिवेशनसम्बन्धी दस्तावेजमै यस विषयमा स्पष्ट धारणा उल्लेख गरिएको जानकारी दिँदै उनले रास्वपाभित्रका विवादमा कांग्रेस सहभागी नहुने बताए।‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनै पनि खालका समस्याभित्र पस्दै पस्दैनौँ। हामीलाई रुचि पनि छैन, हामी कुनै कचकच गर्दैनौँ, कुनै उपद्रोमा सहभागी पनि हुँदैनौँ,’ थापाले भने।

सभापति थापाले मुलुकको राजनीतिक व्यवस्था सञ्चालनमा सरकार र प्रतिपक्ष दुवैको आ–आफ्नै भूमिका र जिम्मेवारी हुने उल्लेख गरे। प्रतिपक्षी दलहरूबीच गठबन्धन बनाएर अघि बढ्ने पक्षमा पनि कांग्रेस नरहेको उनको भनाइ थियो।

प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको कांग्रेसले सरकारसँगको सम्बन्ध राजनीतिक मुद्दा र आवश्यकताका आधारमा निर्धारण गर्ने उनले स्पष्ट पारे।‘हामी प्रस्ट छौँ, हामी प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छौँ। जहाँ सरकारसँग हातेमालो गर्नुपर्छ, त्यहाँ हातेमालो गर्छौँ। जहाँ सरकारलाई खबरदारी गर्नुपर्ने हो, त्यहाँ खबरदारी गर्छौँ। जहाँ सरकारलाई प्रश्न सोध्नुपर्ने हो, त्यहाँ प्रश्न सोध्छौँ,’ थापाले भने।

थापाको अभिव्यक्तिले रास्वपाको आन्तरिक राजनीतिबाट अलग रहँदै सरकारका कामकारबाहीमा आवश्यकताअनुसार सहकार्य गर्ने र प्रतिपक्षीको हैसियतले निगरानी तथा खबरदारी गर्ने कांग्रेसको नीति स्पष्ट पारेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्