अनुसन्धानमा रहेको पछिल्लो सुन काण्ड केही दिनभित्र निष्कर्षमा पुग्ने : गृहमन्त्री

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० भाद्र २०८०, बुधबार
2 Min Read
Aa

माडी, गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानमा रहेको पछिल्लो सुन काण्ड केही दिनभित्र निष्कर्षमा पुग्ने बताएका छन् । माडी एफएमको १३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस  विषयमा नेपाल प्रहरी र सीआईबीले अनुसन्धान गरिरहेको बताएका हुन् । गृहमन्त्री श्रेष्ठले भ्रष्टचार नियन्त्रणमा लाग्दा सरकार र गृहमन्त्री टिक्छ भन्ने चिन्ता र चासो आमसमुदायमा रहेको बताए । उनले यो सरकारको निरन्तरता, गहृमन्त्रीको निरन्तरता भ्रष्टचार, कालोबाजारी, दण्डहिनता र तस्करीको निरन्तरता सँगसँगै जान नसक्ने बताए ।

यो भ्रष्टचारविरोधी अभियानलाई बिश्राम नलिई अगाडि बढाउने उनले दाबी गरे । उनले भने, ‘भ्रष्टचार नियन्त्रण सजिलो बाटो होइन तर तै चुपमैचुपको नीतिको यथास्थितिको सामु लम्पसार हुने काम यो सरकारबाट हुन सक्दैन । सबै अपराधी र तस्करहरुलाई कानुनी कठघरामा उभ्याइन्छ । ’ ६० किलो सुन तस्करीलाई आधार बनाएर त्यसको जरासम्म पुग्ने काममा सीआईबी अनुसन्धानरत रहेको भन्दै छिट्टै अनुसन्धान निष्कर्षमा पुग्ने श्रेष्ठले जानकारी दिए । भ्रष्टचार नियन्त्रणलाई सबैले साथ दिइरहेको भन्दै आभार व्यक्त गरे । प्रभावशाली राजनीतिक व्यक्तिहरु मिलेर बालुवाटार जग्गा व्यक्तिको नाममा लग्ने काम भएको भन्दै गहन्त्रीले बालुवाटार जग्गा छिट्टै सरकारको नाममा आउने दाबी गरे ।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले आफूहरु दृढतापूर्वक राजनीतिक परिवर्तनलाई आधार बनाएर सामाजिक आर्थिक रुपान्तरण चाहेको बताए । उनले भने, ‘ मूल मिसन र ध्येयमा अविचलित भएर सरकार अगाडि बढ्नेछ । अहिले देखिएका घटना बाहेक अन्य घटनामा छानबिन गरेर भ्रष्ट र अपराधीलाई कानुनी दायरामा ल्याउनेछौं । भ्रष्टचारविरोधी अभियान चलाउने पात्रहरुलाई घेराबन्दी गर्ने र सरकारका केही पात्रलाई घेराबन्दी गर्ने, यसका मूल पात्रहरुलाई हटाउने षडयन्त्र भइरहेको छ । हामी षडयन्त्रबाट पछाडि हट्ने छैनौं । ’ उनले आफूहरुले नयाँ ढाँचाको आर्थिक विकास र समृद्ध नेपाल बनाउन चाहेको बताए । श्रेष्ठले जनताले कर्मचारी र दलका नेताहरुलाई दलाली र चाकडी गर्नुपर्ने अवस्थाको अन्त्य गनुप¥यो भनेर जनताले भनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array