सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भयो, नयाँ केही छैन : डा.संग्रौला

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ जेष्ठ २०८१, बिहीबार
2 Min Read
Aa

सिन्धुपाल्चोक । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सग्रौलाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी रहेको टिप्पणी गरेकी छिन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्व सांसद डा.संग्रौलाले नीति तथा कार्यक्रमले अहिलेको अर्थतन्त्र सुधार्न नसक्ने, अधिकांश कार्यक्रम पुरानै दोहोरिएको र कार्यान्वयन गर्नका लागि सरकारसँग आर्थिक क्षमता कमजोर देखिएको बताइन् ।

‘नीति तथा कार्यक्रममा आम्दानीको दायरा विस्तार गर्ने कुनै योजना छैन । राजस्व प्रशासन सुधारतर्फ सरकारको कुनै ध्यान गएको देखिँदैन। कमजोर धरातलमा रहेको सरकारले समग्र शासन प्रणालीमा सुधार गर्न सक्ने देखिदैन,’ डा. संग्रौलाले भनिन्। उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टा गर्ने मिल्ने निर्णय गरेर नीतिगत भ्रष्टाचार गरेकाले त्यसक्रममा भएको अनियमिततामाथि छानवीन गर्न माग गरिन्।

‘एमाले, माओवादीलगायतको सरकार नागरिकप्रति उत्तरदायी छैन् । सत्ता टिकाउने खेलमा मात्रै सिमित छ । देशभर अनियमितता र बेथिति मौलाएको छ । सहकारीको समस्या दिनप्रतिदिन बढ्दै गएको छ। गृहमन्त्री आफैं सहकारीको रकम अपचलन गरेको आरोप खेपिरहेका छन् । तर सरकार भने ढाकछोपमा लागिपरेको छ,’ डा.संग्रौलाले भनिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि आरोप लागेपछि पदमा बसिरहनु नैतिक रुपले उचित नहुने भन्दै उनले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताइन् ।

नेपाली काङ्ग्रेस नागरिकको हितको लागि सधैं काम गर्ने पार्टी भएकाले नागरिकको समस्यालाई समाधान गरेर अगाडि बढ्नुपर्नेमा पार्टीको सबै तह सक्रिय बन्न उनले सुझाव दिइन । पार्टीको संगठनलाई मजबुत बनाएर लगे नेपाली काङ्ग्रेसले निर्वाचन कहिले नहार्ने उनले दावी गरिन् ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array