रबिन थपलिया । काठमाडौं, साउन ३ गते। निरन्तरको वर्षासँगै बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएपछि तारकेश्वर नगरपालिकाले विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाएको जनाएको छ। नगरप्रमुख कृष्णहरि महर्जन ले नागरिकको जीवन र सम्पत्तिको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्।
नगरप्रमुख महर्जनका अनुसार नगरप्रहरीलाई २४सै घण्टा परिचालन गरिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट तथा विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरी विपद् व्यवस्थापनका कामलाई प्रभावकारी बनाइएको छ। कुनै पनि विपद्को सूचना प्राप्त हुनासाथ तत्काल उद्धार, राहत र आवश्यक व्यवस्थापनका लागि टोली तयारी अवस्थामा रहेको उनले बताए।
यसैबीच, तारकेश्वर नगरपालिका वडा नं. ६ र ७ मा लगातारको वर्षापछि गएको पहिरोका कारण केही घरहरू जोखिममा परेका छन्। जोखिमयुक्त क्षेत्रमा पुगेको नगरपालिकाको टोलीले पहिरोबाट थप क्षति हुन नदिन प्लास्टिक तथा पाल वितरण गरेको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नुका साथै आवश्यक राहत सामग्री पनि उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख कृष्णहरि महर्जन स्वयं पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थानीयवासीको अवस्था बुझ्दै उनीहरूको पीडामा साथ दिएका छन्। उनले प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै जोखिम कम गर्न आवश्यक सबै उपाय अवलम्बन गरिने बताएका छन्।
नगरपालिकाले वडा नं. ६ र ७ मात्र नभई तारकेश्वरका अन्य सबै वडामा पनि सम्भावित विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि निगरानी, पूर्वतयारी र आवश्यक सतर्कता बढाइएको जनाएको छ। जोखिमयुक्त क्षेत्रको नियमित अनुगमन, स्थानीय जनप्रतिनिधिसँग समन्वय तथा आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
उता, मौसमविद्हरूले आगामी केही दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा निरन्तर वर्षा हुने सम्भावना रहेको जनाउँदै बाढी, पहिरो, डुबान तथा अन्य विपद्का घटना हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा कमजोर भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन र सम्बन्धित निकायले जारी गर्ने सूचना तथा निर्देशनको पालना गर्न आग्रह गरेका छन्।
नगरपालिकाले पनि विपद्को अवस्थामा कुनै पनि आपत्कालीन घटना देखिएमा तत्काल वडा कार्यालय, नगरपालिकाको विपद् व्यवस्थापन शाखा वा सुरक्षा निकायलाई जानकारी गराई उद्धार तथा राहत कार्यमा सहयोग गर्न सबै नागरिकलाई अनुरोध गरेको छ।

fghfgh


fdf


प्रतिक्रिया दिनुहोस्