कांग्रेससामु इतिहासको प्रश्न,विरासत जोगाउने कि विभाजन दोहोर्याउने ?

Sagarmatha Post
Sagarmatha Post १८ श्रावण २०८३, सोमबार
10 Min Read
Aa

– सृजना बुर्लाकोटी : उप-प्रमुख, तारकेश्वर नगरपालिका
क्षेत्रिय सचिव, नेपाली कांग्रेस क्षेत्र नं ७, काठमाडौँ
नेपाली राजनीतिको आकाशमा जब-जब संकटका काला बादलहरू मडारिएका छन्, तब-तब नेपाली कांग्रेसले देशलाई सही दिशा निर्देश गर्ने प्रकाश-स्तम्भको रूपमा काम गरेको छ। २००७ सालको क्रान्ति होस्, २०४६ सालको जनआन्दोलन, या २०६२/६३ को ऐतिहासिक परिवर्तन- हरेक मोडमा कांग्रेसको रुखले मुलुकलाई न्याय र लोकतन्त्रको शितल छहारी प्रदान गरेकै हो। कांग्रेसको यो विशाल वृक्ष जति बलियो छ, यसका जराहरू त्यत्तिकै गहिरा र आदरणीय छन्। बिपी कोइराला, सर्वमान्य नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, र त्यागी नेता महेन्द्रनारायण निधि जस्ता मुर्धन्य व्यक्तित्वहरूको रगत र पसिनाले यो जरा सिञ्चित छ।
तर, आज इतिहासको एउटा यस्तो संवेदनशील घडी आइपुगेको छ, जहाँ कांग्रेस आफैं आन्तरिक संकटको भुमरीमा फसेको छ। विशेष महाधिवेशनपछि विकसित घटनाक्रम, निर्वाचन आयोगको निर्णय, सर्वोच्च अदालतको आदेश र त्यसपछि संस्थापन इतर समूह (हाल पूर्णबहादुर खड्काको नेतृत्वमा) भित्र भइरहेका नयाँ पार्टी गठनसम्मका आन्तरिक रणनीतिहरूले हरेक लोकतन्त्रवादीको मन अमिलो बनाएको छ। साउन २९ गतेका लागि तय गरिएको राष्ट्रिय भेला र देशभरका १६५ निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि परिचालन गर्ने तयारीले कतै हामी विभाजनको आत्मघाती बाटोतर्फ त अग्रसर भइरहेका छैनौँ? भन्ने गम्भीर प्रश्न खडा गरेको छ।
चुनदेवीस्थित सम्पर्क कार्यालयदेखि गोल्फुटारस्थित खड्का निवासमा तीन दिनदेखि जारी इतरपक्षका शीर्ष नेताहरूको बैठकमा नयाँ पार्टी गठन गरेर जानुपर्छ भन्ने रणनीति र अडानमा नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखकलगायत पुगेको चर्चाले आम कार्यकर्तामा गम्भीर चिन्ता थपिदिएको छ।
इतिहासले हरेक पुस्तालाई कुनै न कुनै परीक्षा दिन्छ। कसैले त्यो परीक्षा जितेर आफ्नो नाम इतिहासमा स्वर्ण अक्षरले लेखाउँछन्, कसैले आफ्नै कमजोरीका कारण इतिहासको एउटा दुःखद अध्याय बन्छन्। आज नेपाली कांग्रेस पनि यस्तै एउटा निर्णायक मोडमा उभिएको छ। प्रश्न केवल नेतृत्वको छैन, प्रश्न एउटा विचार, एउटा आन्दोलन, एउटा विरासत र एउटा राष्ट्रिय जिम्मेवारीको हो।
इतिहासको ऐना र राष्ट्रिय मेलमिलापको मर्म
हामीले इतिहासका ती पानाहरू पल्टाउनै पर्छ, जसले हामीलाई मार्गनिर्देशन गर्छन्। २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएर बीपी कोइरालालगायतका नेताहरूलाई जेल हाले। राजनीतिक दलहरूमाथि प्रतिबन्ध मात्र लागेन, नेताहरूमाथि देशद्रोहको मुद्दासमेत लगाइयो। २०२५ कात्तिक १४ गते जेलमुक्त भएपछि नेताहरू भारत निर्वासनमा गए।
त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते बिपी, गणेशमान सिंह, शैलजा आचार्य र खुमबहादुर खड्कालगायतका नेताहरू आफूमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै, राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए। मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरू भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए। दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन दृढ संकल्पित ती कांग्रेस नेताहरूले जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए।
बीपीले भन्नुभएको थियो, “देश रहे मात्र राजनीति रहन्छ।” व्यक्तिगत पीडा र प्रतिशोधभन्दा राष्ट्रिय हित ठूलो हो भन्ने सोचेरै उनले राजाले फाँसी दिन सक्ने अवस्था हुँदाहुँदै यो साहसिक निर्णय लिएका थिए। २०४६ सालमा त्यही मेलमिलापकै जगमा गणेशमान सिंहको नेतृत्वमा कम्युनिस्ट पार्टीहरू समेतलाई समेटेर जनआन्दोलन सफल पारियो।
प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण र ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीति आज ४४ वर्षपछि पनि उत्तिकै सान्दर्भिक छ।
आज प्रश्न उठ्छ: जुन कांग्रेसका संस्थापकहरूले देश र लोकतन्त्र बचाउन कट्टर दुश्मन र विपरित विचारधारा भएकाहरूसँग त मेलमिलाप गर्न सक्थे भने, आजका कांग्रेसजन आफ्नै हितैषी, ऊर्जावान् र क्रान्तिकारी कार्यकर्ता (गगन थापा/विश्वप्रकाश शर्मा) सँग किन मिल्न सकिरहेका छैनन्? राजा महेन्द्रसँग संवादको ढोका बन्द नगर्ने बीपीका उत्तराधिकारीहरू आज आफ्नै घरभित्रका सहयात्रीसँग संवाद र सहमति गर्न किन हिचकिचाइरहेका छन्? यो प्रश्न इतिहासले सिंगो नेतृत्वलाई सोधिरहेको छ।
लिगेसीको कसौती र वीर योद्धाका सुपुत्रहरूको दायित्व
अहिलेको इतर समूहको बुझाइमा जैविक र वैचारिक कांग्रेसका नेताहरू एक ठाउँमा छन्। कांग्रेसका संस्थापकहरू बीपी कोइरालाको लिगेसी पुत्र शशांक कोइराला, गणेशमान सिंहको लिगेसी पुत्र प्रकाशमान सिंह, महेन्द्रनारायण निधिको लिगेसी पुत्र विमलेन्द्र निधि, किसुनजी (कृष्णप्रसाद भट्टराई) को लिगेसी नेता पूर्णबहादुर खड्का, र शेरबहादुर देउवाको लिगेसी प्रकाशशरण महत, एनपी साउद, रमेश लेखिकसँग छ। नेता कृष्णप्रसाद सिटौलाले खड्का निवासको बैठकमा यी नेताहरूसँग ‘ब्रान्ड’ रहेको र सो ब्रान्डको निर्णयमा आफ्नो सहमति रहेको र आफूलाई कुनै पद नचाहिएको बताउनुभएको थियो।
तर, के यो ब्रान्ड पार्टी विभाजनका लागि वा नयाँ पार्टी खोल्ने मनस्थितिका लागि प्रयोग हुनु उचित हो? बीपीका सुपुत्र शशांक कोइराला र भतिजा शेखर कोइराला जस्ता शालिन व्यक्तित्वहरू कांग्रेस विभाजनको मतियार वा फड्के किनाराको साक्षी मात्र बन्न मिल्छ? उनीहरूलाई इतिहासले केवल एउटा पद वा वंश दिएको छैन; एउटा गम्भीर नैतिक जिम्मेवारी पनि दिएको छ। इतिहासले उहाँहरूलाई विभाजनको डिलमा उभिएको होइन, बरु एकताको सुत्रधार बनेको हेर्न चाहन्छ।
नेल्सन मन्डेलाले भन्नुभएको थियो, “यदि तपाईं आफ्नो शत्रुसँग शान्ति बनाउन चाहनुहुन्छ भने, तपाईंले उनीसँगै काम गर्नुपर्छ। तब मात्र उनी तपाईंको साझेदार बन्छन्।” यहाँ त शत्रु होइन, आफ्नै पार्टीका भाइबन्धु र भविष्यका कर्णधारहरूसँग सहकार्य गर्नुछ। १४औँ महाधिवेशनबाट निर्वाचित १११ जना केन्द्रीय सदस्यहरूको पुनर्स्थापना वा कार्यविधिको असन्तुष्टिलाई आन्तरिक संवाद र राजनीतिक परिपक्वताबाट हल गर्न सकिन्छ, तर यसैलाई प्रतिष्ठाको लडाइँ बनाएर विभाजनको बाटो रोज्नु आत्मघाती कदम बाहेक केही हुन सक्दैन।
कानुनी निरुपण र गगन थापाको नेतृत्व स्वीकारोक्ति
नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णयलाई गत वैशाख ४ गते सर्वोच्च अदालतको संयुक्त इजलास (न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौला) ले पनि सदर गरिसकेको छ। सुरुमा देउवा र त्यसपछि कार्यवाहक सभापति रहेका पूर्णबहादुर खड्काले फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्चमा पुनरावलोकनको माग लिएर निवेदन दिए पनि न्यायिक र कानुनी रूपमा यो विषय स्थापित भइसकेको छ। अब यसलाई प्रतिष्ठाको विषय बनाएर निरन्तर मुद्दा-मामिलामा अल्झिरहनुले पार्टीलाई थप कमजोर मात्र बनाउनेछ।
लोकतन्त्रको सबैभन्दा ठूलो सुन्दरता अदालतको ढोका ढकढक्याउनु मात्र होइन, आवश्यक पर्दा आफ्नै मनको ढोका पनि खोल्नु हो। कानुनी अधिकारभन्दा माथि राजनीतिक परिपक्वता हुन्छ। गगन थापा र उहाँको टिमले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व सम्हाल्नु कुनै दुर्घटना होइन, बरु यो पार्टीभित्र लामो समयदेखि प्रतीक्षित ‘पुस्तान्तरण’ र ‘रूपान्तरण’को प्रतिविम्ब हो।
आज देशमा जेनजी (Gen Z) आन्दोलन र युवाहरूको नयाँ लहर चलिरहेको बेला, पुरानै शैली र ढर्राबाट कांग्रेस अगाडि बढ्न सक्दैन। युवा पुस्ताको ढुकढुकी बनेका गगन थापाको नेतृत्वलाई सहज रूपमा स्वीकार गर्नु र उहाँको ऊर्जालाई पुराना नेताहरूको अनुभवसँग जोड्नु नै आजको बुद्धिमता हो। विशेष महाधिवेशन स्वीकार्नु भनेको आत्मसमर्पण गर्नु होइन, त्यो लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्नु हो। लोकतन्त्रको सुन्दरता नै यही हो कि नेतृत्व परिवर्तन हुन्छ, तर संस्था बाँचिरहन्छ ।
नेता प्रकाशमान सिंहले मेलमिलाप दिवसको सन्दर्भमा सामाजिक सञ्जालमा लेख्नुभएझैँ- ‘संविधानको सफल कार्यान्वयन, देशको विकास, सुदृढ अर्थतन्त्रको निर्माण, जनताको जीवनमा सकारात्मक परिवर्तन आजको राजनीतिको मूल कार्यभार हो। यसलाई पूरा गर्न राष्ट्रिय रूपमा र अन्तर पार्टी विवाद तथा मतभेदलाई अन्त्य गर्न जरूरी छ। परिवर्तनका बाहक शक्ति राजनीतिक दलहरूका बीचमा राष्ट्रिय मुद्दामा मेलमिलापको सान्दर्भिकता सरकार सिर्जित अहिलेको प्रतिकूल राजनीतिक परिस्थितिमा थप टड्कारो देखिन्छ।’
अबको बाटो: रूपान्तरित र एकताबद्ध कांग्रेस
इतिहासले देखाएको छ- फुटेका कांग्रेसहरू कहिल्यै बलिया भएका छैनन्। तर एकताबद्ध कांग्रेसले हरेक कठिन मोडमा राष्ट्रलाई निकास दिएको छ। इतर समूहले आगामी राष्ट्रिय भेला र रणनीतिक दबाबलाई पार्टी विभाजनको अस्त्र होइन, बरु पार्टीभित्र नीतिगत बहस र आन्तरिक एकताको माध्यम बनाउनुपर्छ।
आज देश पनि सहज अवस्थामा छैन। युवाहरू विदेशिइरहेका छन्, अर्थतन्त्र दबाबमा छ र जनतामा राजनीतिक दलप्रति निराशा बढेको छ। यस्तो बेला कांग्रेस आफैं विभाजित भयो भने त्यसले केवल एउटा पार्टीलाई होइन, सम्पूर्ण लोकतान्त्रिक आन्दोलन र समृद्धिको जगलाई कमजोर बनाउनेछ।
डा. शशांक कोइराला र प्रकाशमान सिंह जस्ता अग्रजहरूलाई आज कार्यकर्ताको विशेष प्रश्न छ: आफ्ना पिताहरू बीपी र गणेशमानले जस्तै संकटको घडीमा व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर आफ्नै पार्टीभित्र संवादको पुल बनाउने जिम्मेवारी तपाईंहरूको होइन र? विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला र अन्य सबै नेताहरूको अनुभवको सबैभन्दा ठूलो उपयोग नयाँ पार्टी खोल्नु होइन, कांग्रेसलाई फेरि एउटै छानामुनि उभ्याउनु हो।
राजनीतिमा सबैभन्दा ठूलो विजय चुनाव वा पद जित्नु मात्र होइन, कहिलेकाहीँ आफ्नो अहंकारमाथि विजय हासिल गर्नु पनि हुन्छ। बीपीले जीवनभर एउटा सन्देश दिए- “राष्ट्र पहिले, व्यक्ति पछि ।” आज त्यसलाई अझ विस्तार गरेर भन्नुपर्ने बेला आएको छ- “कांग्रेस पहिले, गुट पछि। विचार पहिले, पद पछि। इतिहास पहिले, अहंकार पछि।”
आउनुहोस्, इतिहासका गल्तीहरूबाट सिकौँ। बीपीको नाम जपेर कांग्रेस नफुटाऔँ, बीपीको विचार अपनाएर कांग्रेस जोडौँ। गणेशमानको साहस सम्झेर गुट होइन, संगठन बलियो बनाऔँ। विशेष महाधिवेशनबाट आएको गगन थापाको नेतृत्वलाई लोकतान्त्रिक यथार्थका रूपमा स्वीकार गर्दै अनुभवी नेताहरूले मार्गदर्शकको भूमिका खेलौँ। अनुभवी नेताहरूको मार्गदर्शन र नयाँ पुस्ताको ऊर्जा एकै ठाउँमा उभियो भने मात्र रुखको जरा जोगिनेछ। किनभने बलियो कांग्रेस नै बलियो लोकतन्त्रको आधार हो, र बलियो लोकतन्त्र नै समृद्ध नेपालको सबैभन्दा ठूलो आशा हो ।

जय नेपाल । ।

 

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्