सोलुखुम्बु, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा हेलिकप्टर अवतरणका क्रममा दुर्घटना । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः११ बजे डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकापसमा दुर्घटनामा परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको पुष्टि गर्नुभयो। मृतकको पहिचान भने खुल्न सकेको छैन।दुर्घटनामा घाइते भएका एक यात्रुलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला ल्याइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका हेलिकप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ। हिमाली क्षेत्रमा भएको दुर्घटनाको कारणसमेत खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण सङ्कलन गर्ने काम जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्