सुशासनका लागि भ्रष्टाचारप्रति शून्य सहनशीलता र कानुनको शासन आवश्यक : राष्ट्रपति पौडेल

Sagarmatha Post
Sagarmatha Post १८ कार्तिक २०८३, बुधबार
2 Min Read
Aa

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको उचित उपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरणलाई सुशासनका प्रमुख आधारका रूपमा लिनुपर्ने बताउनुभएको छ।दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि सुशासन कायम गर्नु रहेको उल्लेख गर्नुभयो।

जनताका अपेक्षा पूरा गर्न सङ्घ, प्रदेश र स्थानीय तहका तीनवटै सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै उहाँले जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गर्नुभयो।राष्ट्रपति पौडेलले प्रशासकीय भवनलाई भौतिक संरचनाका रूपमा मात्र नभई जनताले सेवा प्राप्त गर्ने विश्वासको केन्द्र, लोकतान्त्रिक शासन व्यवस्थाको स्थानीय आधारस्तम्भ र नागरिकका आकाङ्क्षा सम्बोधन गर्ने सार्वजनिक संस्थाको प्रतीकका रूपमा व्याख्या गर्नुभयो।

नवनिर्मित भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री हुने विश्वास व्यक्त गर्दै उहाँले भौतिक संरचनासँगै प्रशासनिक कार्यशैली पनि आधुनिक, प्रविधिमैत्री र परिणाममुखी हुनुपर्ने बताउनुभयो।सूचना प्रविधिको अधिकतम प्रयोग, अभिलेख व्यवस्थापन, डिजिटल सेवा प्रवाह तथा गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले यी पक्ष सुशासनका लागि आवश्यक रहेको उल्लेख गर्नुभयो।

यसैगरी, दक्षिणकाली नगरपालिकालाई धार्मिक पर्यटनका साथै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको राष्ट्रपति पौडेलले बताउनुभयो। उहाँले ती सम्भावनाको पहिचान र सदुपयोग गर्दै पर्यटन प्रवर्द्धनका कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्