अमेरिकामा आज मध्यावधि निर्वाचन, कंग्रेसका दुवै सदनमा बहुमतका लागि प्रतिस्पर्धा

Sagarmatha Post
Sagarmatha Post १७ कार्तिक २०८३, मंगलवार
3 Min Read
Aa
President Donald Trump speaks at a campaign rally at Lubbock Memorial Civic Center, Tuesday, Oct. 27, 2026, in Lubbock, Texas. (AP Photo/Annie Rice)

काठमाडौं । अमेरिकामा आज (नोभेम्बर ३) मध्यावधि निर्वाचन हुँदैछ। नेपाली समयअनुसार अपराह्न साढे ४ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ।यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि प्रतिस्पर्धा हुँदैछ। यसका साथै केही राज्यमा गभर्नर पदका लागि समेत निर्वाचन हुनेछ।अमेरिकामा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको दुई वर्षपछि मध्यावधि निर्वाचन हुने संवैधानिक व्यवस्था छ। यस निर्वाचनलाई राष्ट्रपतिको कार्यसम्पादन र उनको दलको राजनीतिक प्रभावको मूल्याङ्कन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा पनि हेरिन्छ।

हाल अमेरिकी कंग्रेसका दुवै सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ। निर्वाचनपछि रिपब्लिकन पार्टीले कुनै एक सदनमा मात्रै बहुमत गुमाए पनि ट्रम्प प्रशासनलाई आफ्ना नीतिगत कार्यक्रम तथा एजेन्डासम्बन्धी कानुन पारित गराउन कठिनाइ हुन सक्छ।

अमेरिकी सिनेटमा बहुमतको समीकरण

अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा कुल १०० सिट छन्। यहाँ बहुमत कायम गर्न कम्तीमा ५१ सिट आवश्यक पर्छ।हाल सिनेटमा रिपब्लिकन पार्टीका ५३ र डेमोक्र्याटिक पार्टीका ४५ सांसद छन्। बाँकी दुई सांसद स्वतन्त्र भए पनि उनीहरूले डेमोक्र्याटिक पार्टीसँग सहकार्य गर्दै आएका छन्। यसअनुसार दुवै पक्षबीच ५३ र ४७ सिटको शक्ति सन्तुलन रहेको छ।

यदि सिनेटमा दुवै दलको सिट सङ्ख्या ५०–५० भएमा उपराष्ट्रपति जेडी भान्सले बराबरी मतको अवस्थामा निर्णायक मत दिन सक्ने व्यवस्था छ।यसपटक सिनेटका ३५ सिटका लागि निर्वाचन हुँदैछ। तीमध्ये २२ सिट रिपब्लिकन र १३ सिट डेमोक्र्याटिक पार्टीका सांसदसँग सम्बन्धित छन्। सिनेटमा बहुमत हासिल गर्न डेमोक्र्याटिक पार्टीले आफ्नो वर्तमान अवस्थाबाट कम्तीमा चार सिट थप्नुपर्ने हुन्छ।

प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा कुल ४३५ सिट छन्। यस सदनमा बहुमत प्राप्त गर्न कुनै एक दलले कम्तीमा २१८ सिट जित्नुपर्छ।यसपटक प्रतिनिधिसभाका सबै ४३५ सिटका लागि निर्वाचन हुँदैछ। त्यसैले प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। २१८ वा सोभन्दा बढी सिट जित्ने दलले तल्लो सदनमा बहुमत कायम गर्नेछ।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको मुख्य लक्ष्य प्रतिनिधिसभा र सिनेट दुवैमा आफ्नो बहुमत कायम राख्नु हुनेछ। त्यस्तै, डेमोक्र्याटिक पार्टी दुवै सदनमा बहुमत हासिल गर्दै कंग्रेसमा आफ्नो राजनीतिक पकड स्थापित गर्ने रणनीतिमा छ।निर्वाचनको नतिजाले आगामी दुई वर्षसम्म राष्ट्रपति ट्रम्पको सरकार सञ्चालन, कानुन निर्माण तथा नीतिगत निर्णय प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसलाई अमेरिकी राजनीतिको महत्त्वपूर्ण निर्वाचनका रूपमा हेरिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्