इनमको अडियो लिक र पत्रकार पक्राउ प्रकरणमा गृहमन्त्री र आईजीपीसँग जवाफ माग्न नेकपाको माग

Sagarmatha Post
Sagarmatha Post १८ कार्तिक २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ । प्रहरी हिरासतबाट अडियो सार्वजनिक भएको तथा पत्रकार पक्राउ र रिहाइका घटनाबारे सरकारसँग जवाफ माग्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेको छ।

नेकपाका प्रमुख सचेतक एवं समिति सदस्य युवराज दुलालले समितिका सभापति हरि ढकाललाई पत्र लेख्दै गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी)लाई समितिमा उपस्थित गराएर घटनाबारे जानकारी लिनुपर्ने माग गरेका हुन्।

दुलालले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियो कसरी सार्वजनिक भयो भन्ने विषयमा प्रश्न उठाएका छन्। साथै, उक्त घटनासँग जोडेर प्रधानमन्त्री तथा उनका प्रमुख सल्लाहकार कुमार वेनले सामाजिक सञ्जालमा व्यक्त गरेका धारणाको आधारसमेत स्पष्ट पार्नुपर्ने उनको माग छ।

त्यसैगरी, पत्रकार पक्राउ पर्ने र रिहा हुने तर सरकारले घटनाबारे आफूलाई जानकारी नभएको भन्दै जिम्मेवारीबाट पन्छिने प्रवृत्तिप्रति पनि दुलालले आपत्ति जनाएका छन्।

सरकारी निकायका गतिविधि र पछिल्ला घटनाक्रमले गम्भीर प्रश्न खडा गरेको उल्लेख गर्दै उनले सम्बन्धित जिम्मेवार अधिकारीलाई समितिमा बोलाएर जवाफदेही बनाउनुपर्ने बताएका छन्।

दुलालका अनुसार उनले समितिका सभापति ढकालसँग यस विषयमा कुराकानीसमेत गरेका छन्। सभापति ढकालले मागलाई सकारात्मक रूपमा लिँदै समिति सदस्यहरूको उपलब्धता हेरेर सम्भव भएसम्म छिट्टै बैठक बोलाउने आश्वासन दिएको उनले जानकारी दिए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्