कोप–२७ : ‘राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा उपलब्धिमूलक’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ मंसिर २०७९, मंगलवार
2 Min Read
Aa
EGYPT-SHARM EL-SHEIKH-COP27-OPENING

काठमाडौँ, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा उपलब्धिमूलक भएको सरोकारवाला विज्ञहरूले बताउनुभएको छ । कोप–२७ सम्मेलन इजिप्टको शार्म एल–शेखमा यही नोभेम्बर ६ देखि १८ तारिखसम्म भएको थियो ।

वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘कोप–२७ सम्मेलनका उपलब्धि र अबको बाटो’ विषयक कार्यक्रममा उहाँहरूले नेपालले प्राथमिकताका साथ उठाएका विषयले औपचारिकता पाएको अवगत गराउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्मेलनमा सहभागी सरकारी तथा गैरसरकारी निकायका अधिकारीहरूले आफ्ना अनुभवसमेत सुनाउनुभएको थियो ।

कार्यक्रममा राष्ट्रियसभाको दिगो विकास समितिका सभापति प्रकाश पन्थले सम्मेलनका उपलब्धिलाई कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताउँदै नीतिगत समस्या देखिएमा त्यसको समाधानका लागि आफू सदैव तयार रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले सम्मेलनमा सहभागी सबैको सक्रियताले सम्मेलन उपलब्धिमूलक भएको उल्लेख गर्दै सम्मेलनका सबै सत्र, वार्ता र छलफलमा सरकारसँगै नागरिक संस्थाका अधिकारीको भूमिका पनि महत्वपूर्ण रहेको बताउनुभयो ।

वन मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले नेपालले प्राथमिकताका साथ उठाएका विषय जलवायुजन्य हानि–नोक्सानीको क्षतिपूर्ति, अनुकूलन सहयोग वृद्धि, कार्बन उत्सर्जन घटाउने, पर्वतीयलगायत विषयमा प्राप्त उपलब्धिले सम्मेलन राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा सफल भएको दाबी गर्नुभयो ।

योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले सम्मेलनमा भएका सहमति र उपलब्धिलाई विषयगतरूपमा बाँडफाँट गरी कार्यान्वयनमा ध्यान केन्द्रित गर्न लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारीले सम्मेलन हरेक दृष्टिकोणले उत्कृष्ट भएको बताउँदै सम्मेलनका उपलब्धि र यसअघि गरिएका प्रतिबद्धता कार्यान्वयनमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव डा बुद्धिसागर पौडेलले कोप–२७ सम्मेलनमा गरिएका तयारी, प्रक्रिया र उपलब्धिका बारेमा जानकारी गराउँदै आगामी दिनमा गर्नुपर्ने कामका बारेमा सुझाव प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array