काठमाडौं, आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ।महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले यसको अन्त्यका लागि प्रभावकारी कानुनी व्यवस्था, न्यायमा सहज पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ।
यसैबीच, विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको तथ्य सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो। यो दैनिक औसत १३७ जनाको सङ्ख्या हो।
प्रतिवेदनले महिला तथा बालिकामाथि हुने हिंसाको सबैभन्दा चरम स्वरूप हत्या भएको उल्लेख गरेको छ। यस्ता हिंसाका घटना प्रायः लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्धसँग जोडिने गरेको पनि प्रतिवेदनमा औँल्याइएको छ।
महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायले लामो समयदेखि विभिन्न कानुनी तथा नीतिगत पहल गर्दै आएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सीईडीएडब्ल्यू) पारित गरेको थियो। त्यसैगरी, सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो।
महिला अधिकारकर्मीहरूले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका हुन्। सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या गरिएको घटनाको स्मरणमा यो दिन छनोट गरिएको हो।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ डिसेम्बर १७ मा प्रस्ताव पारित गर्दै नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो। त्यसयता सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय संस्था तथा गैरसरकारी संस्थाहरूलाई यस अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गर्न आह्वान गरिँदै आएको छ।
यस दिवससँगै आजदेखि डिसेम्बर १० अर्थात् मानव अधिकार दिवससम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सुरु भएको छ। महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज र समुदायबीच सामूहिक प्रयास आवश्यक रहेको सन्देश अभियानले प्रवाह गर्दै आएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथि हुने हिंसा सबै देश र समुदायलाई प्रभावित पार्ने विश्वव्यापी लज्जाको विषय भएको बताएका छन्। उनले हिंसा अन्त्यका लागि पीडितलाई न्याय सुनिश्चित गर्न र रोकथामका प्रयासलाई तीव्र बनाउन आह्वान गरेका छन्।
दिवसका अवसरमा जारी सन्देशमा गुटेरेसले हिंसापीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श तथा सुरक्षित आश्रय उपलब्ध गराउन र हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गरेका छन्।
त्यसैगरी, संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले हिंसापीडित महिलालाई संरक्षण र न्याय प्रदान गर्न तथा हिंसामा संलग्न दोषीलाई जवाफदेही बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन्।


प्रतिक्रिया दिनुहोस्