‘विभेदका अन्त्यका लागि चेतना विकास र कानुन कार्यान्वयन आवश्यक’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ चैत्र २०७९, बुधबार
4 Min Read
Aa

काठमाडौँ ,राजनीतिक तथा संवैधानिक रुपमा सबै जातजाति समान भए पनि व्यवहारमा नदेखिएको भन्दै राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभा बैठकमा सांसद भुवनबहादुर सुनारले पेस गरेको छुवाछूत तथा जातीय विभेदविरुद्धको सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले विभेद अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन र सामाजिक चेतनाको विकासमा जोड दिनुभयो ।

छलफलमा भाग लिँदै सांसद कमला पन्तले राष्ट्रिय दलित आयोगको कामप्रति प्रश्न गर्नुभयो । उहाँले कानुनको प्रभावकारी कार्यान्वयन गर्न माग समेत गर्नुभयो । कानुन कार्यान्वयन हुन नसक्नाको कारण के हो ? भन्दै उहाँले सामाजिक रुपमा देखिएको विभेद अन्त्यका लागि अनुगमनमा जोड दिनुभयो । उहाँले आफू प्रस्तावको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

सांसद अनिता देवकोटाले मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको पङ्क्ति उल्लेख गर्दै भएका कानुनको प्रभावकारी कार्यान्वयन गर्न र अभाव भए थप कानुन ल्याउन सबैको सार्थक पहल जरुरी रहेको बताउनुभयो ।

सांसद बेदुराम भुसालले विभेदको अन्त्यका लागि जनचेतनाको विकास पनि उत्तिकै जरुरी रहेको बताउनुभयो । राज्यले नै विभेदकारी व्यवहार देखाइरहेको उल्लेख गर्दै उहाँले कानुन कार्यान्वयनमा विशेष जोड दिनुभयो ।

सांसद विमला राई पौडेलले संविधान, कानुन, नियममा जातीय विभेद नभए पनि व्यवहारमा भने कायम रहेकाले मर्यादित जीवन बिताउन नसकेको तथ्य पेस गर्नुभयो । उहाँले भन्नुभयो, “कानुन छ, कार्यान्वयन भएको छैन । यस्तो अवस्थाले राजनीतिक दल, सरकार, कर्मचारी सबैलाई झापड हानेको छ ।”

सांसद सुमित्रा विसीले अन्तरजातीय विवाहमा समेत विकृति देखिएको बताउनुभयो । उहाँले मानिसको सोच परिवर्तन नगर्दासम्म विभेदको अन्त्य हुन नसक्ने भएकाले कडा कानुनको प्रबन्ध गर्न सबैको सार्थक पहल जरुरी रहेको उल्लेख गर्नुभयो ।
सांसद तुलसाकुमारी दाहालले राज्यले केही प्रयास गरेको भए पनि मानसिकतामा परिवर्तन नआएका कारण दलित समुदायले विभेद बेहोर्नुपरेको बताउनुभयो । उहाँले दलितभित्र रहेको विभेद अन्त्यका लागि सामाजिक चेतनाको विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सांसद गोपाल भट्टराईले राज्यले आर्थिक अवस्था कमजोर भएका दलित समुदायलाई उपलब्ध गराएको छात्रवृत्ति जस्ता व्यवस्था सम्पन्न र आर्थिक रुपमा सबल रहेकाहरुले नै लिएको भन्दै त्यसमा सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद नारायणदत्त मिश्रले वैदिककालमा कामका आधारमा विभाजन गरिएको र कहीँ कतै पनि विभेद नगरिएको उल्लेख गर्नुभयो । उहाँले जातीय विभेद अन्त्यका लागि क्रान्तिकारी परिवर्तन जरुरी रहेको बताउनुभयो ।

सांसद दिलकुमारी रावल थापा पार्वतीले मान्छे–मान्छे बीच छुवाछूत र विभेद किन भन्ने प्रश्न गर्दै सामाजिक कलङ्कका रुपमा रहेको विभेद हटाउनका लागि सार्वजनिक जीवन र भूमिका रहेका मानिस थप जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले संविधान र कानुन कार्यान्वयनमा सरोकारवाला सबै निकाय, तह तथा तप्का जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

सांसद मदनकुमारी साह गरिमाले ‘२०८० साललाई जातीय छुवाछूतविरुद्धको अभियान वर्ष’ घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले दलितमाथि हुने हिंसाको अन्त्य र समानताका लागि पनि सरकारले २०८० साललाई सो अभियान वर्षका रुपमा घोषणा गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद साहले संविधानले दलितसहित पछि पारेका समुदायको हकअधिकार सुनिश्चित गराउनका लागि गरेको व्यवस्थाअनुसार कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बीना पोखरेलले नयाँ शिराबाट सोचेर जातीय विभेदको अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराउनुभयो । उहाँले जातजातिभन्दा माथि उठेर अगाडि बढ्न आग्रह गर्नुभयो ।a

प्रतिक्रिया दिनुहोस्

Array