वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमाटन’ अङ्ग्रेजीमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ चैत्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ,  निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमाटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति अङ्ग्रेजी भाषामा बजारमा ल्याएको छ । यसमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दुःखपूर्ण संसारको यात्राबारे विवरण प्रस्तुत गरिएको छ । साहित्यकार अरुण बुढाथोकीद्वारा अनूदित कृति मूल लेखक जोशीको स्मरण पनि हो । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्नुभएका लेखकले नियमितरूपमा युवा र श्रम आप्रवासनका विषय उठाइरहनुभएको छ र उहाँका नेपालका राष्ट्रिय पत्रपत्रिकामा लेखरचना प्रकाशन भइरहेका छन् ।

जोशी विभिन्न देशमा वैदेशिक रोजगारीको कठोर यथार्थ अनुभव गरेपछि पुस्तक लेख्न प्रेरित हुनुभएको हो । निजी व्यापार कम्पनी तमसका कार्यकारी निर्देशक जोशीको यसअघि ‘मोडर्न बेली’ (आधुनिक बेली) शीर्षक उपन्यास प्रकाशन भइसकेको छ ।

पब्लिकेसन्सका नेपाल प्रतिनिधि युयुत्सु आर डी शर्माले कृति लेखकको उत्तेजनापूर्ण जीवित अनुभव रहेको र यसलाई पढेपछि पाठक पनि राम्रोसँग निदाउन नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँका अनुसार प्रस्तुत अनूदित कृतिमा मूल कृतिको मौलिकता, जीवन्तता र शक्ति कायमै छ । क्यानडामा बसोबास गर्दै आउनुभएका पत्रकार एवं अनुवादक बुढाथोकीका यसअघि ‘एज’(किनारा) र प्रिजनर अफ एन आइप्याड(आइप्याडको बन्दी) शीर्षक कविता सङ्ग्रह र ‘सेकेन्ड इन लभः शर्ट स्टोरिज’ (प्रेममा दोस्रोः कथाहरू’ र ‘गोइङ होम’(घर जाँदै) शीर्षक दुई कथा सङ्ग्रह प्रकाशन भइसकेका छन् ।

विशेषगरी अन्तरराष्ट्रिय पत्रपत्रिकामा लेखरचना प्रकाशन गर्दै आउनुभएका बुढाथोकी अनूदित कृति नेपाली आप्रवासी कामदारहरूको प्रायःउपेक्षित अनुभवहरूलाई प्रकाश पार्ने काम भएको जानकारी दिनुभयो । “मैले यो शक्तिशाली पुस्तक महामारीको प्रारम्भिक दिनमा अनुवाद गरेको हुँ, यसमा नेपाली आप्रवासी कामदारहरूले संसारभरि सामना गर्ने अन्याय र चुनौतीका बारेमा विश्वलाई बताउन पाउँदा म खुसी छु ।” पुस्तक अब अमेजन र निराला पब्लिकेसन्समा पेपरब्याक ढाँचामा उपलब्ध रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्