काठमाडौँ । अर्नब चक्रवातको अवशेषका रूपमा विकसित न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै जाने भएको छ । यससँगै मौसममा पनि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपाल नजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ । त्यस्तै, मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार उक्त मौसमी प्रणालीको प्रभावले अपराह्नसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने जनाइएको छ । तर, अपराह्नपछि वर्षा र हिमपातको क्रम घट्दै जाने र मौसममा क्रमिक सुधार आउने महाशाखाको पूर्वानुमान छ ।


प्रतिक्रिया दिनुहोस्