काठमाडौँ । अधिवक्ता तथा विश्लेषक रन्जन खनालले वंशजको नागरिकता नागरिकको मौलिक अधिकार भएकाले यसलाई खोस्न नहुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा जोड दिँदै वंशजको नागरिकता खोस्ने कार्य पूर्ण रूपमा अवैध भएको दाबी गरे ।
खनालले ‘वंशजको नागरिकता खै’ भन्ने अभियान नेपालमा मात्र नभई विश्वभर सञ्चालन भइरहेको बताए । कागजी प्रक्रियामार्फत नागरिकताको अधिकार निषेध गर्न नसकिने उनको भनाइ थियो । जेन–जी आन्दोलनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले निर्वाचनका क्रममा वंशजको नागरिकताको निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकाले त्यसलाई कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
नागरिकताजस्तो संवेदनशील विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले आफ्नो धारणा स्पष्ट पार्नुपर्नेमा पनि खनालले जोड दिए । नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले वंशजको नागरिकतासम्बन्धी आफ्नो आधिकारिक दृष्टिकोण सार्वजनिक गर्नुपर्ने उनको माग थियो ।
कार्यक्रममा खनालले देश जटिल परिस्थितिबाट गुज्रिरहेको टिप्पणी गर्दै सरकारले विकास र अर्थतन्त्र सुधारमा पर्याप्त ध्यान दिन नसकेको आरोप लगाए । सरकारले समृद्धिका कामलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने धारणा राखे ।
उनले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाह स्वतन्त्र उम्मेदवारका रूपमा लौरो चुनाव चिह्न लिएर निर्वाचित भएको उदाहरण दिँदै प्रधानमन्त्री बालेनले पाँच वर्षसम्म निर्धक्क भएर काम गर्न पाउनुपर्ने बताए । साथै, रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई पूर्ण सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
यसैगरी, अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने युग सकियो’ भनी दिएको अभिव्यक्तिप्रति खनालले आपत्ति जनाए । उक्त अभिव्यक्ति नेपालको राष्ट्रिय स्वाभिमानविपरीत रहेको दाबी गर्दै उनले प्रधानमन्त्री बालेनले अर्थमन्त्रीसँग तत्काल स्पष्टीकरण मागेर पदबाट बर्खास्त गर्नुपर्ने माग गरे ।


प्रतिक्रिया दिनुहोस्