काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशका विभिन्न भागमा वर्षा र हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रभाव हिजोदेखि नै नेपालमा देखिन थालेको हो ।महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी र वाग्मती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशका अधिकांश स्थानमा बादल लाग्ने पूर्वानुमान गरिएको छ । कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।त्यसैगरी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ । कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्ने तथा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी तथा एक-दुई स्थानमा अति भारी वर्षा र हिमपातको सम्भावना छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न अनुरोध गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरिएको छ । त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा बस्नसमेत अनुरोध गरिएको छ ।वर्षाका कारण चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्