चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि नेपालमा, तीन दिन वर्षा र हिमपातको सम्भावना

Sagarmatha Post
Sagarmatha Post १२ कार्तिक २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडौँ । बंगालको खाडीबाट विकसित भई भारतको तटीय क्षेत्रमा प्रवेश गरेको अति शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव आज (बिहीबार) देखि नेपालमा उल्लेखनीय रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार चक्रवातको प्रभावका कारण गएरातिदेखि देशभरको आकाशमा साधारणतया बादल लागेको भए पनि वर्षा भने भएको छैन । महाशाखाले सूचना जारी गर्दै बिहीबारदेखि चक्रवातको प्रभाव बढ्ने भएकाले आफ्नो क्षेत्रको मौसमसम्बन्धी जानकारी नियमित रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ ।

पश्चिममध्य बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ बुधबार बिहान सवा ८ बजेतिर भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको महाशाखाले जनाएको छ ।चक्रवातको प्रभावले बिहीबारदेखि शनिबारसम्म कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार उक्त तीन दिन कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै महाशाखाले सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्