काठमाडौँ । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको छ। माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र बाँकी रहेकाले देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति पनि देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्