तथ्य र प्रमाणका आधारमा नै न्याय दिनुपर्ने : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० जेष्ठ २०८०, बुधबार
2 Min Read
Aa

काठमाण्डौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायका उपभोक्तालाई तथ्य र प्रमाणका आधारमा न्याय दिनुपर्ने बताउनुभएको छ ।

‘न्याय : अवधारणा एक परिप्रेक्ष्य अनेक’ पुस्तकको आज सार्वजनिक गर्दै उहाँले तथ्य र प्रमाणका आधारमा नै न्याय दिनुपर्ने बताउनुभयो । पुस्तक निकै पठनीय र सङ्ग्रहणीय भएको उल्लेख गर्दै उहाँले सबैलाई उपयोगी हुने उक्त पुस्तक पढ्न आग्रहसमेत गर्नुभयो ।

“पूर्वीय दर्शनबारे हामीलाई नै थाहा छैन, पश्चिमाले पूर्वीय दर्शनकै विषयमा लेखेका पुस्तक किन्छौँ”, कामु प्रन्या कार्कीले भन्नुभयो, “न्यायको पूर्वीय दर्शनको हामीले नै सोध गर्नु जरुरी छ ।”

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले तर्क र प्रमाणबाट न्याय कसरी दिलाउन सकिन्छ भनेर पुस्तकमा स्पष्ट लेखिएको बताउनुभयो । उहाँले पूर्वीय दशर्नमा न्याय भनेको अनुभूति भएको बताउनुभयो ।

पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता डा युवराज सङ्ग्रौलाले समाज र न्यायको उत्थान गर्ने हो भने अनुसन्धान गर्नुपर्ने र पश्चिमी प्रयोग छाड्पर्ने बताउनुभयो । वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद मैनालीले न्याय दर्शनको विषयमा लेखिएको पुस्तक अत्यन्तै कम भएको र यो पुस्तक न्याय क्षेत्रकै लागि उपयोगी भएको बताउनुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुस्तक न्यायको विकास कसरी सुरुआत भयो भन्ने कुरा उल्लेख भएको र दशर्नमा आधारित पुस्तक भएकाले महत्वपूर्ण रहेको बताउनुभयो ।

पुस्तकका लेखक अधिवक्ता रवीन्द्र भट्टराईले पुस्तक बुद्ध दर्शनबाट प्रभावित भएर लेखिएको र सबैले पढ्दा राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । पुस्तकमा पौरस्त्य न्याय प्रणालीलाई एउटा मौलिक प्रणालीका रूपमा शोधमूलक गर्ने प्रयास भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array