सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ असार २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ,  आइसीसी विश्वकप छनोट-२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालभोलि नेदरल्यान्ड्ससँग खेल्दैछ ।

जिम्बाबेको हरारे स्पोर्ट्स क्लबकाे मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे हुनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने हुन्छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स हालसम्म दुई पटक भिडे्का छन् । दुवै टोलीले समान एक/एक जीत हासिल गरेका छन् ।

जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ । त्यसैगरी जिम्बावे र वेस्ट इन्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान करिब सुनिश्चित गरिसकेका छन् ।

अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यससँगै तीन खेलपछि नेपालको दुई अङ्क छ भने दुई खेलेकाे नेदरल्यान्ड्सको पनि समान दुई अङ्क नै छ । नेपाल अङ्क तालिकाको चौथो स्थान र नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array