आन्तरिक र बाह्य शक्तिबाट देशको राष्ट्रिय सुरक्षामा खतरा भएको सुरक्षामा चासो राख्ने एक समूहको निश्कर्ष, प्रधानमन्त्री प्रचण्डले जातीय द्धन्द्ध फैलाउन खोजेको आरोप

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ श्रावण २०८०, आईतवार
8 Min Read
Aa

काठमाडौं, राष्ट्रिय सुरक्षामा चासो राख्ने एक समूहले आन्तरिक र बाह्य शक्तिबाट देशको राष्ट्रिय सुरक्षामा खतरा भएको निश्कर्ष निकालेको छ । आज (शनिबार) राष्ट्रिय सुरक्षामा चासो राख्ने एक समूहले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्तरिक र बाह्य शक्तिबाट देशको राष्ट्रिय सुरक्षामा खतरा रहेको दाबी गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष खगेन्द्रराज बस्नेतले देशको राजनीतिक खिचातानीले हामीले अभिषाप भएको महशुस भइरहेको बताए। प्रधानमन्त्रीजस्तो पदमा बसेर देशमा रहेका विभिन्न जातजातिहरूलाई जातीय बिखण्डनका लागि उक्साइरहेको उनले आरोप लगाए।  उनले राज्य सञ्चालकहरूले धार्मिक असहिष्णुता फैलाइरहेको आरोप लगाउँदै उनले भने,‘हामी आफैँ राष्टप्रति आफैँ चिन्तित भइरहेको अवस्था देखिराखेका छैनौ।’

छिमेकी राष्ट्रहरू चीन र भारत विश्वशक्तिमा उदाइरहेको र यही मौकामा नेपालले भने गरिवभन्दा गरिव मनस्थिति बनाइरहेको बताउँदै उनले पश्चिमा राष्ट्रहरूले विभिन्न माध्यमहरूबाट प्रहार गरिराखेको दाबी गरे।  उनले देशमा असुरक्षा बढिरहेको र सबै नेपालीहरूलाई सचेत रहन आग्रह गर्दै जात र धर्मको आधारमा राजनीति नगर्न आग्रह गरे।  अहिलेको गठबन्धन सरकारलाई अनावश्यक कुरा नगर्न उनले आग्रह गरे । ‘संसारकै भ्रष्ट नम्बर एक भनेर अंग्रेजी समाचारहरूमा आउन थालिसकेको छ। आज हामी विदेशमा जाँदा हाम्रा राहदानीहरू नेपाली हुँ भन्नेबित्तिकै विदेशको विमानस्थलमा, अध्यागमन विभागमा हामीलाई थाँती राखेर अरूको काम गरिन्छ,’ उनले भने। उनले सरकारका सुरक्षा अंगहरूलाई स्वतन्त्र रूपमा व्यवस्थापन नगरी राजनीतिकर्मीहरूले आफ्नो हातमा लिएको दाबी गरे। ‘हातमा लिएर बसेपछि त्यो संस्थाले काम गर्न सक्छ’ भन्दै उनले प्रश्न गरे । उनले सबैलाई असल कार्यका लागि अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि मष्टो कुल देवता प्रतिष्ठानका अध्यक्ष तथा नेपाल सरकार पूर्वसहसचिव मोहनसिंह खडकाले कार्यपालिका प्रमुखले ढुङ्गा हानेको कटाक्ष गरे। उनले आफूहरू संघीयताको विपक्षमा रहेको बताए। प्रधानमन्त्रीको जातीय राज्यमा जानुपर्ने वक्तव्य आएपछि आफूहरू आश्चर्यचकित भएको उनले बताए ।
उनले अहिलेपनि प्रधानमन्त्रीको उक्त वक्तव्यको बारेमा आफ्नो समूहमा छलफल भइरहेको बताए।पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय अध्यक्ष कोमल बहादुर राउतले नेपालको पुण्यभूमिलाई हड्प्नका लागि एउटा बाह्य शक्ति लागिरहेको दाबी गरे। उनले नेपालका उदाइरहेका दुईवटा मित्र राष्ट्रहरूको बीचमा ती राष्ट्रहरूलाई कमजोर बनाउनका लागि नेपाली भूमिलाई क्रिडास्थल बनाउन अभियानअनुरूप एक शक्ति आइरहेको दाबी गरे।
विदेश शक्तिहरूले नेपालीलाई भारी बोकाएर भरियाको रूपमा परिचालित गरिएको र त्यो शक्तिदेखि सजग हुनुपर्ने उनले बताए। ‘धर्मको नाममा, जातिको नाममा, आर्थिक कमजोर समुदायलाई परिचालन गरेर एउटा अभियान ल्याइराखिएको छ, त्यसबाट राष्ट्रिय सुरक्षा एकदमै खतार भएको महशुस गरिएको छ,’ उनले भने। त्यस्तै, उनले आन्तरिक रूपमा पनि त्यत्तिकै खतरा भएको दाबी गरे । धार्मिक सहिष्णुतालाई एकताबद्ध राख्नुको सट्टा सुरक्षा निकायहरूलाई घोडेजात्रा र सलामी दिनका लागि मात्रै हो भन्ने कुरा जिम्मेवार पार्टीका माननीयहरूले उठाइरहेको उनले बताए। उनले ठूला पार्टीका सांसदहरूले सेना घटाउने कुरा गर्दा कसैले सेना नै नराख्नुपर्ने कुरा सदनमा उठाइरहेको र त्यो सानो कुरा नभएको बताए ।
उनले नेपालको भूमि बचाउनका लागि ५ लाख सेना आवश्यक रहेको औँल्याउँदै भने,‘औंद्योगिक सेनाहरू, विकास निर्माणका सेनाहरू, कृषि सेनाहरू र हरेका सेनाहरू बनाउन सकिन्छ। उस्तैपर्यो भने राष्ट्र बचाउनका निम्ति ५० लाखभन्दा बढी युवाहरूलाई सुरक्षा सैनिक तालिम दिनुपर्ने आवश्यकत्ता देखिन्छ।’ इतिहासविद् भीम बर्माले देश कमजोर हुँदै जाँदा खतरा बढ्दै जाने गरेको टिप्पणी गरे । उनले २÷३ वर्षको अगाडि हेर्दा नेपाल यो क्षेत्रमा बलियो देश रहेको र अहिले हामी कमजोर देखिएको बताए।
नेपालको इतिहासभन्दा र मित्र राष्ट्रहरूको इतिहास पुरानो नभएको बताए। ‘भर्खर आए, अहिले बलिया देखिएका छन्। यिनीहरूको पनि आन्तरिक अवस्था राम्रो छैन ।’–उनले भने। वर्तमान नेताहरू गलत दिशामा गइरहेको उनको टिप्पणी छ। उनले नेताहरुले आफ्नो सत्ता टिकाउनका लागि जहाँ गयो त्यहीँ हस्ताक्षर गरिदिने र विदेशीहरुको सहारा लिँदा नेपाल कमजोर भइरहेको उनको भनाई छ ।  उनले वर्तमान नेतृत्वले नेपाली सेनालाई कहिले सीमामा नपठाएको र कहिले नपठाउने पनि दाबी गरे। उनले नेपाल संघीयता ल्याउनुपर्ने देश नभएको बताए। लेखक तथा नेपाली सेनाका पूर्व महासेनानी पूर्ण बहादुर वलीले पूर्वराजा महेन्द्र शाहले देश बचाउनका लागि ठूलो काम गरेको बताए। उनले नेपालका लागि सबैभन्दा खतरा भारतबाट रहेको दाबी गरे ।
‘पहिलादेखि नै नेपाललाई भारतमा मिसाउन प्रयोग गरिएको थियो। राजा महेन्द्रको विलक्षण बुद्धिले गर्दा सफल भएको थिएन र छैन पनि,’ उनले भने। उनले ०४६ सालको आन्दोलनमा भारतका नेता चन्द्रशेखर नेपाल आएर सबैभन्दा पहिला नेपालका पूर्वराजालाई गाली गरेको बताउँदै त्यो बेलादेखि भारतको प्रत्यक्ष हस्तक्षेप सुरू भएको दाबी गरे। ४६ सालपछि आएको बहुदलीय सरकारले उद्योगहरू बेचेको र त्यसपछि मात्रै भ्रष्टाचार बढेको दाबी गरे। माओवादी जनआन्दोलन सुरू भएपछि उक्त आन्दोलनलाई भारतले दुरूपयोग गरेको बताए।  तत्कालिन माओवादी सरकार भारतले बनाएको बताउँदै वर्तमानमा सरकारको नेतृत्व गर्नेहरूपनि भारतको विरोध गर्न नसक्ने उनले बताए।
नेपालमा उत्पादन हुने बस्तुहरू भारतले भारत निर्यातका लागि रोकेर देश विकासमा अवरोध पुर्याएको उनले आरोप लगाए। उनले मिलेर बसेका नेपालीहरूलाई वर्तमान नेतृत्वले भाड्न खोजेको आगामि निर्वाचनमा मतदान गर्दा राष्ट्रघातीहरू मतदान नगरि नयाँ आउने नेतृत्वहरूलाई मात्र मतदान गर्न आग्रह गरे।
नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले माओवादीले जातीय राज्य उचालेर आन्तरिक द्धन्द्ध उब्जाउन खोजेको बताए।  उनले माओवादीले पृथ्वीनारायण शाहको शालिक तोड्ने गरेको आरोप र त्यो शालिक तोड्नेलाई नेपाली सेनालाई त्यसको सुरक्षा गर्न आग्रह गरे ।  वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले भोट ल्याउन नसकेर कांग्रेसको लङ्गौटीमा गएर २÷४ भोट ल्याएको आरोप लगाउँदै अहिले जातीय राज्य दिन्छु भनिरहेको बताए। ‘यो एउटा अपराध हो। १७ हजार मारेको अपराध टुङ्गिएको छैन,’ उनले भने। यस्तै, जातीय राज्य कसले दिने रहेछ आफूहरुले पनि नजिकबाट नियाँलिरहेको बस्न्यातको भनाई छ ।  त्यसका लागि बन्धुकधारी सुरक्षाकर्मीहरू मरेपनि आफूहरू सुरक्षा दिनका लागि तयार रहेको बताए।  उनले कोशी प्रदेशको नामाकरण गर्दा सबै पार्टी एक ठाउँमा आएको तर माओवादीले अहिले भोट र जातीय राज्यको नाममा बदमासी गरिरहेको बताए । वर्तमान सेना ढाल्न माओवादीले मात्र चाहेको तर अहिले त्यसका लागि माओवादी बाठो स्यालजस्तै चुप लागेको उनले आरोप लगाए । उनले सेनालाई त्यसका लागि चुप लागेर नबस्न आग्रह गरे ।  उनले राजनीतिक नेतृत्वहरूलाई कोशी प्रदेशको समस्या समाधान गर्न आग्रह गरे । उनले अहिलेका नेताहरू सबैलाई आफूले गरेको भ्रष्टाचार बचाउनुपरेको आरोप लगाए।
उनले सुरक्षा अंगका प्रमुखहरूलाई देशका लागि केही गरेर देखाउन आग्रह गरे । मित्र राष्ट्र चीनबाट नेपाललाई तस्करहरूको खतरा रहेको उनको दाबी थियो । उनले नेपालका कर्मचारीहरूले बनाएको बिल भरपाईहरूले अहिलेका राजनीतिक नेताहरूले खाइरहेको बताउँदै कर्मचारीहरूका कारण देशमा असुरक्षा बढेको तर्क गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशका लागि केही बोल्न र गर्न आग्रह गरे।
कार्यक्रममा प्रमुख अतिथि मष्टो कुल देवता प्रतिष्ठानका अध्यक्ष तथा नेपाल सरकार पूर्वसहसचिव मोहनसिंह खडका, नेपाली सेनाका पूर्व सहायक रथी डा प्रेमसिंह बसन्यात, लेखक तथा नेपाली सेनाका पूर्व महासेनानी पूर्ण बहादुर वली, नेपाली सेनाका पूर्वप्रमुख सेनानी सन्तोषजङ्ग ठाकुर, पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय अध्यक्ष कोमल बहादुर राउत, पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष खगेन्द्र राज बस्नेत
ज्येष्ठ नागरिक गुप्तबहादुर खत्री, राप्रपा नेपालका प्रवक्ता बसन्तमान अधिकारी, नेपाली सेनाका पूर्व सेनानी अनिल बसन्यात, पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय सचिव विक्रम पाण्डेय र इतिहासविद् भीम वर्मालगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array