एनआईसी एशिया खुमलटार शाखाका तत्कालीन प्रमुख कर्णले कर्जा अपचलन गरिदिएको गन्तव्य इन्भेष्टमेन्ट इन्टरनेश्नलका सञ्चालकको आरोप

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ भाद्र २०८०, बिहीबार
4 Min Read
Aa

काठमाडौं,  गन्तव्य इन्भेष्टमेन्ट इन्टरनेश्नल प्रा.लि. का अध्यक्ष बल्लभ नेपालले एनआइसी एशिया बैंक लिमिटेड खुमलटार शाखाका तत्कालीन शाखा प्रमुख अविनाश कर्णले आफूले लिएको कर्जा अपचलन गरेको आरोप लगाएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले कर्णले आफूलाई प्रक्रिया पूरा भएको २४ घण्टाभित्र कर्जा उपलब्ध गराउने भनेपछि श्रीमतीको नाममा भक्तपुरको बालकोटमा रहेको तीन आना एक पैसामा बनेको डेढ तले घर धितो राखेर ९५ लाख कर्जाका लागि प्रक्रिया गरेको उनले सुनाए ।
प्रक्रिया पूरा भएपछि कर्णले कर्जा प्रवाहमा कडाइ भयो, थप एक महिनाभन्दा बढी लाग्ने भयो भनी अल्मल्याएको उनको भनाई छ । ‘पहिले कर्जा प्रक्रिया पुरा गरेको २४ घण्टा मै मिलाइदिने भनेकोले मैले कर्जा प्रक्रिया पूरा गरेको हुँ । यदि कर्जा प्रवाह भएन भने मलाई अप्ठेरो पर्छ के गर्ने होला त ?’ भन्दा कर्णले उक्त रकम आफूले केहि दिनका लागि चलाउन पाउनुपर्ने शर्त राखेको उनको भनाई छ । कर्णको शर्तअनुसार अप्ठेरो अवस्थामा पर्दापर्दै पनि पैसा चलाउन मौखिक स्वीकृति दिएको उनले बताए ।
पीडित नेपालका अनुसार उनले निकाल्न मिल्ने जति रकम सोही दिन निकालेर दिएको र बाँकी रकम निकाल्नका लागि चेकमा हस्ताक्षर र कम्पनीको छाप लगाएर कर्णलाई लगाएर छोडिदिएका थिए ।
कर्णले आफूले नचिनेका व्यक्तिको नामबाट सबै पैसा निकालेको उनको भनाई छ । कर्णले नै फिर्ता गर्ने वचन दिएको समय पूरा नभई बीचमा नै फोन गरेर कार्यालयमा बोलाएको उनले बताए । पीडित नेपालले बताएअनुसार कार्यालयमा बोलाएर कर्णले पुरानो पनि केही दिनमै फिर्ता गर्ने भन्दै अरु केही रकम खोज्न लगाएका थिए । त्यसपछि कर्णले महिनौसम्म रकम फिर्ता नगरेको, मेसेज गर्दा मिटिङमा छु, पछि कल गर्छु भन्ने गरेको पीडित नेपालले बताए ।
कर्ण त्यसपछि सकभर सम्पर्क मै आउन नचाहेको र सम्पर्कमा आएपनि ‘अहिले नै पैसा हाल्न लगाउँछु, पैसा अर्काको खातामा गएछ रिभर्स गर्नुपर्छ’ जस्ता आलटालको व्यवहार गरेको उनको भनाई छ ।
त्यसपछि उनलाई कार्यालयमै भेटेर ‘तपाईको कर्तुतका विरुद्ध तपाईको केन्द्रीय कार्यालय र नेपाल राष्ट्र बैंकमा उजुरी गर्छु’ भनेको उनले बताए । त्यसपछि कर्णले ‘मेरो जागीर जाने काम नगर्नुस् । जसरी पनि तिर्छु, तपाईको विश्वासको लागि म एनआईसी एशिया बैंककै कर्मचारी खाताको कारोबार बमोजिमको रकमको चेक दिन्छु’ भनेर विभिन्न मितिका चेक दिएको उनको भनाई छ ।
उनले दिएको ती चेकहरु नसाटिएको र बैकिङ कसुरको मुद्दा लगाउने थाहा पाएपछि कर्णले उल्टै आरोप लगाएर विभिन्न मिडियामा बोल्दै हिँडेको पीडित नेपालले बताए । नेकपा (माओवादी केन्द्र) मा आवद्ध भएर राजनीतिका सक्रिय रहेका नेपाललाई कर्णले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जोडेर विभिन्न हल्ला फैलाउँदै हिँडेको बताए । कर्णले प्रधानमन्त्री प्रचण्डको फोटो दुरुपयोग गर्दै विभिन्न आरोप लगाएको उनको भनाई छ ।
उनले गरेको कर्तुत बाहिरिएपछि उनीभन्दा सिनियर बैंकका कर्मचारीले उक्त पैसाको बारेमा सोधखोज गर्दा कर्णले जग्गामा लगानी गरेको भन्ने जवाफ दिएको पीडित नेपालले सुनाए । त्यसपछि, बैंककै केही कर्मचारीले अहिलेको अवस्थामा ‘जग्गा दिएर ऋण उहाँलाई नै सेटल गराउन भन्नुस्’ भनेपछि कर्णले आफूलाई घर लिएर गएको पीडित नेपालले सुनाए ।
घरमा लगेपछि उनका आफन्तसँगको कन्भरसेसनको भिडियो आफूसँग रहेको उनले बताए । उनका बाबु, श्रीमती लगायतले जिम्मा लिने बताएको उनले बताए । त्यसपछि उनले प्रधानमन्त्रीसँगको साँठगाँठमा घर खाने कोशिस गरेको भनेर अफवाह फैलाएको उनले बताए ।
आफूले कर्णविरुद्ध दायर गरेको बैकिङ कसुरको मुद्दा विचाराधीन रहेको उनको भनाई छ । कर्णलाई घटनापछि यही जेठ महिनामा बैकले सेवाबाट हटाएको उनले बताए । कर्णसँग आफूले वास्तविक लिनुपर्ने रकममात्रै दाबी गरेको र मुद्दा विचाराधीन अवस्थामा रहेकाले बाँकी कुरा तथ्य र प्रमाणले बोल्ने उनले बताए । आफूविरुद्ध आएका समाचारलाई लिएर भ्रममा नपर्ने उनले सबैलाई अपीले गरे ।

प्रतिक्रिया दिनुहोस्

Array