हेटौंडामा चिकित्सकमाथि कुटपिट गर्ने ४ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

हेटौंडा,   हेटौंडामा चिकित्सकमाथि कुटपिट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सञ्चो अस्पतालका चिकित्सक विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बुधबार बिहान ८/१० जनाको समूहमा आएका व्यक्तिले चिकित्सक थापा र बिडारीलाई बिरामीको उपचार गरिरहेको अवस्थामा कुटपिट गरेका थिए। कुटपिटपछि दुवै चिकित्सक घाइते भएका थिए। एक महिनाअघि डेंगी संक्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै आफन्तले चिकित्सकमाथि कुटपिट गरेका हुन्। राजेशको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले कुटपिटमा संलग्नमध्ये रमा प्रधान, रोहित प्रधान, रमिता प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको जानकारी दिए। उनीहरु चारै जना राजेशको परिवारका सदस्य हुन्। रमा राजेशकी पत्‍नी हुन्। यस्तै रोहित छोरा, रमिता छोरी र अनुप भतिजा हुन्। घटनालाई लिएर चिकित्सकहरूले विरोधका कार्यक्रम घोषणा गरेपछि प्रहरीले कुटपिटमा संलग्न ४ जनालाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

Array