भेरी अस्पतालमा आउने बिरामीमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढ्न थाले

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ भाद्र २०८०, आईतवार
2 Min Read
Aa

नेपालगन्ज,  पछिल्लो समय बाँकेमा बालबालिकामा स्क्रबटाइफस र डेङ्गु रोग पनि देखिन थालेको छ। बालबालिकामा एन्फ्लुएन्जासँगै स्क्रबटाइफस र डेङ्गु रोग पनि पनि देखिन थालेको चिकित्सकले जनाएका छन्। भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेले हाल आएर भेरी अस्पतालमा आउने बिरामीमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढ्न थालेको बताउनुभयो।

उहाँले भेरी अस्पतालमा आएका बालबालिकामा बढी स्क्रबटाइफस र डेङ्गु रोग देखिए पनि अन्य उमेर समूहका बिरामीहरूमा पनि सो रोग भेटिन थालेको बताउनुभयो। यस्तै नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जका बालरोग विशेषज्ञ डा. रोमा बोहोराले अहिले अस्पतालमा उपचारका लागि आउने बालबालिकामा स्क्रबटाइफस र डेङ्ग सङ्क्रमण देखिन थालेको बताउनुभयो।

उहाँले स्क्रबटाइफससँगै डेङ्गु सङ्क्रमण पनि देखिन थालेकाले सामान्य ज्वरो र रुघाखोकीमा पनि समयमै बालबालिकाको परीक्षण आवश्यक भएको बताउनुभयो।

नेपालगन्जका वरिष्ठ बालरोग विशेषज्ञ डा. सकिल अहमदले स्क्रबटाइफसको सङ्क्रमण भएमा बालबालिकालाई धेरै ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निने जस्ता लक्षण देखा पर्ने बताउनुभयो। उहाँले बिस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा अवरोध आउनेजस्ता समस्या बढ्न थाल्ने हुँदा यस्ता लक्षण देखिएमा छिटोभन्दा छिटो चिकित्सकको परामर्श लिएर औषधी दिनु आवश्यक रहेको बताउनुभयो।

भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेका अनुसार स्क्रबटाइफस एक किसिमको सरुवा रोग हो। यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ। यो रोग माइटमा पाइने ‘ओरिन्सिया सुसुगामासी’ भन्ने जीवाणुबाट लाग्दछ। उहाँले थप्नुभयो, “माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरपरको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ। स्क्रबटाइफसको पहिचान गरी समयमै औषधी सेवन गरे यो रोग निको हुन्छ तर समयमै उपचार नगरे यसले गम्भीर रूप लिएर मानिसको ज्यानसमेत जान सक्छ।”

प्रतिक्रिया दिनुहोस्

Array