१९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ आश्विन २०८०, मंगलवार
2 Min Read
Aa

हाङझाउ,  १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मङ्गलबार जितका लागि दुई सय तीन (२०३) रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७९ रनमा समेटियो ।नेपालका लागि दीपेन्द्र सिंह ऐरीले र्वाधिक ३२ रन बनाउनुभयो । उहाँले १५ बलमा चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।यस्तै कुशल मल्ल र सन्दीप जोराले समान २९/२९, ओपनर कुशल भुर्तेलले २८, करण केसीले अविजित १८, आशिफ शेखले १० र रोहित पौडेलले तीन रन बनाउनुभयो । यस्तै सोमपाल कामी सात र गुलशन झा ६ रनमा आउट हुनुभयो । सन्दीप लामिछाने लामिछाने पाँच रन जोड्दै पेभेलियन फर्किनुभयो ।

बलिङमा भारतका रवि विस्नोई र आवेश खानले तीन तीन विकेट लिनुभयो । अर्शदीप सिंहले दुई तथा सई किशोरल एक विकेट लिनुभयो । यसअघि टस टिजेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय दुई (२०२) रन बनाएको थियो । भारतका लागि यशस्वी जैसवालले शतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४९ बलमा आठ चौका र सात छक्काको सहयोगमा एक सय रन बनाउनुभएको हो । रिन्कु सिंहले अविजित ३७, कप्तान रुतुराज गायकवाडले २५ र शविम् दुवेले अविजित २५ रन बनाउनुभयो । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिनुभयो । सोमपाल कामी, सन्दीप लामिछाने एक एक विकेट लिनुभयो ।नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो पटक भारतसँग टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो ।

एकदिवसीय क्रिकेटमा भने नेपालले एक महिना अघिमात्र एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । त्यतिवेला भारतसँग उत्कृष्ट ब्याटिङ गरेको नेपालको चर्चा विश्वभर चुलिएको थियो । विश्वकपको कारण भारतले यसपटक एसियाडमा दोस्रो रोजाइका खेलाडी मैदानमा उतारेको छ । एसियाड क्रिकेटको समूह चरणमा नेपालले पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array