जाजरकोटको प्राथमिक स्वास्थ्य केन्द्रमा महिनौँ देखि (औषधी ) जीवनजल र सिटामोल समेतको अभाव

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ माघ २०८०, बिहीबार
3 Min Read
Aa

जाजरकोटको जुनीचाँदेमा एक महिना देखि औषधि अभाव भएता पनि हालसम्म आपूर्ति हुन सकेको छैन । जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटकी एक महिनाकी सुत्केरी मनीषा रावत भूकम्प पछि त्रिपालको बसाइँका कारण रुघाखोकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि स्थानीय गर्खाकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र गएर औषधि नपाउँदा निराश भएर घर फर्कनु बाध्य भएका छन् । त्यहाँ उहाँले स्वास्थ्य परीक्षण गराएता पनि निःशुल्क दिनुपर्ने जीवनजल र सिटामोल समेत स्वास्थ्य संस्थामा नपाउँदा मनीषा रित्तो हात फर्कन बाध्य हुनु भयो । उनी जस्तै चिसोले धेरैलाई बिरामी पारेको बेला जुनीचाँदे गाउँपालिकामा औषधी अभाव हुँदा स्थानीयलाई निकै समस्या परिरहेको छ । लामो समय बिती सक्दा पनि औषधीको आपूर्ति हुन सकेको छैन । स्वास्थ्य संस्थामा जीवनजल र सिटामोल समेत पाइँदैन ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाँउपालिकाका बासिन्दा बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधी पाउन सकेका छैनन् । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या लिएर बिरामीहरू स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधी नहुँदा बिरामी रित्तो हात फर्कन बाध्य भएको जुनीचाँदे ५ का कुलराज शाहीले बताउनु भयो । चिसोले गर्दा पखाला, ज्वरो, टाइफाइड, निमोनिया, दम लगायतका बिरामीको सङ्ख्या बढिरहेको छ तर औषधी छैन । जुनीचाँदेका ११ ओटै स्वास्थ्य संस्था ६ महिना देखि औषधी विहीन छन् । यस आर्थिक वर्षमा औषधी आपूर्ति हुन सकेको छैन । साउन यता पालिकाले औषधी खरिद गरेको छैन भने सङ्घ र प्रदेश सरकारले पनि औषधी पठाएको छैन ।

औषधी अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयमले बताउन थालेका छन् । चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकी लगायतको श्वासप्रश्वास सम्बन्धी समस्या बढ्दै गएको भए पनि औषधी नहुँदा उपचार गर्न समस्या भएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले बताउनु भयो । चिसोले सुत्केरी महिला, बालबालिका र बृद्धबृद्धा धेरै प्रभावित भएका छन् । औषधी नहुँदा कतिपय बिरामीहरू स्वास्थ्य संस्था नआएर घरेलु उपचारमा लाग्ने गरेको जुनीचाँदे गाउँपालिका १ बड्कुले स्वास्थ्य चौकीमा कार्यरत अनमी विष्णुकुमारी शाहीले बताउनु भयो । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा.प्रतीक्षा भारतीले औषधि अभावको समाचार सँगै केही समय अघि जिल्लामा स्टक औषधी पठाइएको बताउनु भयो । जुनीचाँदे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलबहादुर शाहीले औषधी दुई हप्ता सम्म पनि पालिकामा नपुगेको बताउनु भयो ।

gorkhapatraonline

प्रतिक्रिया दिनुहोस्

Array