विश्वशान्तिको कामनासहित मुन स्टार क्लबद्वारा ‘विश्वशान्ति अन्तर्राष्ट्रिय म्याराथन’ आयोजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ माघ २०८०, बुधबार
3 Min Read
Aa

काठमाडौं,  मुन स्टार क्लबले आफ्नो वार्षिक उत्सवको अवसरमा सोलुखुम्बुको तल्लो क्षेत्रमा खेलकुद तथा पर्यटन प्रवर्द्धनका लागि ‘विश्वशान्ति अन्तर्राष्ट्रिय म्याराथन’ को आयोजना गरेको छ । क्लबका पदाधिकारीहरुले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आगामी २०८१ कात्तिक ५ गते सोमबार म्याराथन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
उक्त आयोजना सोलुदुधकुण्ड नगरपालिका–५ सल्लेरीदेखि माप्य दुधकोशी गाउँपालिका बासाखाली माध्यमिक विद्यालय (खालीडाँडाँ) सम्म ४२ किलोमिटर दुरीको तय गरिएको छ । अन्तर्राष्ट्रियरूपमा हुने म्याराथनमा १६ वर्षमाथिका स्वदेशी तथा विदेशी महिला÷पुरुष सहभागी हुन सक्ने छन् ।
म्याराथनमा प्रथममा प्रथम हुने विजेतालाई तीन लाख, दोस्रो हुनेलाई दुई लाख र तेस्रो हुनेलाई एक लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । साथै, पाँच÷पाँच जना धावक (महिला, पुरुष) लाई सान्त्वना पुरस्कार पाँच÷पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
साथै, सोही मितिमा स्थानीय खेलाडीलाई विशेष प्रोत्साहन गर्ने ध्यले महिला÷पुरुष ‘मातृभूमि म्याराथन’ को समेत आयोजना गरिएको छ । उक्त म्याराथन खुम्बु पासाङल्हमू गाउँपालिका १ खरिखोलादेखि जुभिङ हुँदै खालीडाँडाँसम्म २१ किलोमिटर दूरीको रहने छ ।
मातृभूमि म्याराथनका शीर्ष तीन विजेतालाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद र प्रमाणपत्र प्रदान गरिने र सान्त्वना १÷१ जना धावक (महिला, पुरुष) लाई ५÷५ हजार नगद र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
क्लबका अध्यक्ष भुवनसिंह राईले विश्वका सबै देश, समाज व्यक्ति र संघ÷संस्था, धर्म, संस्कृति र फरक–फरक जाति र समाजमा मानवीय शान्तिको कामना गर्दै सगरमाथाको काखबाट ‘विश्वशान्ति अन्तर्राष्ट्रिय म्याराथन’ आयोजना गरिएको बताए । विभिन्न व्यक्ति, संघ÷संस्थाहरुसँग समन्वय गरेर विश्वमा शान्तिको कामनासहित ‘विश्वशान्ति अन्तर्राष्ट्रिय म्याराथन’ डौड गर्ने क्लबको लक्ष्य रहेको उनले बताए ।
क्लबका उपाध्यक्ष चन्द्रबहादुर राईले संस्थाले प्रत्येक वर्ष स्थानीय तथा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता र वातावरणीय सचेतना कार्यक्रमलाई वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिरहेको बताए । स्वच्छ, समाज र वातावरणमैत्री खेलकुदका लागि आफूहरु नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।
‘कला, संस्कृति तथा खेलकुद विकाससँगै वातावरणीय संरक्षण कार्यक्रमसहित स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पर्यटन पवद्र्धनको विकास गर्ने उद्देश्यले क्लबले तयारी गरेको छ,’– उपाध्यक्ष राईले भने ।
अन्तर्राष्ट्रिय धावक अर्जुन कुलुङले पर्यटनको विकासका लागि मुन स्टार क्लबले ‘विश्वशान्ति अन्तर्राष्ट्रिय म्याराथन’ आयोजना गरेकोमा खुसी व्यक्त गरे । क्लबका सचिव पूर्ण राईले आफूहरु गाउँदेखि देश विदेशसम्म जोडिने अभियानमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array