‘हाइपर फन्ड’ को नाममा नेपाली ठगीदै, के हो हाइपरफण्ड ? कसरी ठगी रहेका छन् नेपाली ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ जेष्ठ २०८१, सोमबार
5 Min Read
Aa

काठमाडौँ, जेठ २८ गते । भर्चुअल मुद्रा ‘हाइपर फन्ड’ मा लगानी गरे २० गुणासम्म फाइदा हुने प्रलोभनमा परी काठमाडौँ बस्दै आउनुभएकी इलामकी ६४ वर्षीय कमला न्यौपाने (नाम परिवर्तन) ले २९ लाख ३८ हजार रुपियाँ गुमाउनुभयो । सामान्य मोबाइलसमेत चलाउन नजान्ने न्यौपानेले सो रकम छिमेकीमार्फत ‘हाइपर फन्ड’ मा लगानी गर्नुभएको थियो ।

सन् २०२१ मा वैदेशिक रोजगारीका क्रममा इजरायल पुग्नुभएकी दोलखा जिरीकी नुर्वु शेर्पा (नाम परिवर्तन) का दम्पतीले सम्पूर्ण कमाइ एक करोड ३६ लाख २४ हजार ‘हाइपर फन्डमा गुमाउनुभयो । यही कारण परिवारमा बेमेल बढ्ने डरले शेर्पा आफ्नो पीडा खुलेर भन्नसमेत सक्नुहुन्न ।

पेसाले शिक्षिका कैलाली, धनगढीकी कमला पुरी (नाम परिवर्तन) ले आफ्नो कमाइको सम्पूर्ण रकम र सहकारीबाट ऋणसमेत लिई २२ लाख २८ हजार पाँच सय रुपियाँ ‘हाइपर फन्ड’ मा गरेको लगानी डुब्यो । वैदेशिक रोजगारीका क्रममा माल्दिभ्समा रहनुभएकी चितवनकी शान्ति भण्डारी (नाम परिवर्तन) ले १० लाख २० हजार पाँच सय रुपियाँ र इजरायलमा बस्ने सालीको विश्वासमा परेर म्याग्दी बेनीका श्यामबहादुर केसी (नाम परिवर्तन) ले ३१ लाख ७० हजार रुपियाँ ‘हाइपर फन्ड’ मा गुमाउनुभयो ।

यी यस्तो ठगीका केही प्रतिनिधि घटना मात्र हुन् । नेटवर्किङ शैलीमा ‘हाइपर फन्ड’ भनिने भर्चुअल लगानी प्लेटफर्मबाट रातारात कमाउने प्रलोभनमा परी स्वदेश तथा विदेशमा बस्ने सयौँ नेपाली ठगिएको पाइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका आफन्त र चिनजान व्यक्तिलाई विदेशमै बसेर ठगी गर्ने गिरोहमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान अघि बढाएको छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार जोसियल, सोलेम्याक्स, क्राउड वान, सिआरयु, विन्टर जस्ता भर्जुअल प्लेटफर्ममार्फत विदेशमा बसेर नेपालीलार्ई ठगी गर्नेमाथि अनुसन्धान अगाडि बढाइएको हो । सिआइबीको प्रारम्भिक अनुसन्धानमा ‘इजरायल र अस्ट्रेलियामा रहेका नेपालीलाई लक्षित गरी २० गुनासम्म कमाइ हुने प्रलोभनमा पारी कतिपय पीडितलाई घरजग्गा धितो राखेरसमेत हाइपर फन्डमा लगानी गर्न लगाइएको खुलेको छ ।

कतार र दुबईलगायतका खाडी देशका नेपाली कामदारलाई पनि यस्तो प्रलोभनमा पारिएको र पीडितको सङ्ख्या हजारौँ हुन सक्ने अनुमान ब्युरोको छ । जुम, टेलिग्राम, ह्वाट्सएप र म्यासेन्जर जस्ता भर्चुअल प्लेटर्फममार्फत ग्रुप बनाई बेलायत, पोर्चुगल, दक्षिण कोरियादेखि मलेसिया र खाडीमा काम गरिरहेका ठुलो सङ्ख्या नेपाली ठगीको जालेमा फसेको ब्युरोले जनाएको छ ।

पिरामिड शैलीमा एकबाट अर्को गरी नेटवर्किङ शैलीमा हाइपर फन्डबाट ५६ जनाले झन्डै सात करोड रुपियाँ ठगिएको भन्दै ब्युरोमा उजुरी परेको छ । उजुरीकर्तामध्ये अधिकांश वैदेशिक रोजगारबाट फर्केका, आफन्त र चिनजानका रहेको पाइएको ब्युरोले जनाएको छ । नेपालमा हाइपर फन्डमा लगानी र कारोबार अवैध रहे पनि विदेशमा बस्ने नेपालीले गिरोहको एजेन्टका रूपमा दोस्रो देशमा बस्ने नेपालीलाई ठगी गर्दै आएको खुलेको छ ।

३५ जनाविरुद्ध पक्राउ पुर्जी जारी हाइपर फन्डमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीलाई इजरायलमा बसेर ठगी गर्ने ‘ब्लक चेन टेक्नोलोजी’ का मुख्य सञ्चालक काजल भनिने नानु घिमिरेलाई प्रहरीले गत वैशाख २० गते काठमाडौँबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

सय गिरोहका योजनाकार पोर्चुगल बस्ने योगेन्द्र मिलन छन्त्याल, रिनुमाया तामाङ, बेलायत बस्ने कुमार गुरुङ, रोशन भनिने देवीप्रसाद पोखरेल, ललितकुमार न्यौपाने, कुमारकान्त भण्डारी, देवेन्द्र गौतमलगायत ३५ जनाविरुद्ध प्रहरी मुख्यालयले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गर्ने तयारी गरेको छ । अनुसन्धानमा संलग्न सिआइबीका एक अधिकारीका अनुसार यो गिरोहले सन् २०२१ देखि विदेशमा बसेर योजनाबद्ध रूपमा नेपालीलाई ठगी गरेको पाइएको छ ।

के हो हाइपरफण्ड ? कसरी ठगी रहेका छन् नेपाली ?

हाइपर फन्ड नाम गरेको प्रच्छन्न मुद्रामा लगानी गरी उच्च प्रतिफल दिने घोषणासहित मानिसहरूलाई ठग्ने काम भइरहेको र यो योजनाको पिरामिड प्रवृत्तिको प्रकृति हेर्दा त्यसलाई अर्को प्रकारको ‘पोन्जी स्किम’ मान्न सकिन्छ । यसअन्तर्गत नयाँनयाँ लगानीकर्तालाई फसाउँदै लगिन्छ र तिनीहरूबाट प्राप्त हुने रकम पुराना लगानीकर्तालाई ‘प्रतिफल’ भन्दै वितरण गरिन्छ । जबसम्म नयाँ लगानीकर्ताहरू यस्तै प्रलोभनमा परेर लगानी गरिरहन्छन् तबसम्म त यस्तो ठगीकर्म जेनतेन ‘जीवित’ रहला, तर जुन दिन नयाँ लगानीकर्ता यसप्रति आकर्षित हुन छोड्छन्, तब यस्तो ‘ठगीको पिरामिड’ स्वतः भताभुंग हुन पुग्छ र त्यो अवस्थामा पछिपछि लगानी गर्नेहरू सबैभन्दा बढी शिकार हुन पुग्छन् । हुन त त्यसमा उच्च प्रतिफलको लोभमा लगानी गर्ने सबै नै ठगिएका हुन्छन् तापनि पुराना लगानीकर्ताले आंशिक मात्रामा भए पनि आफ्नो लगानीको कथित ‘प्रतिफल’ प्राप्त गरिसक्ने हुनाले अपेक्षाकृत नयाँ लगानीकर्ता जस्तो उनीहरू शिकार हुनु पर्दैन ।

वास्तवमा हाइपर फन्डले आफ्नो परिवर्तनीय (कन्भर्टिकल) बन्ड विक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गर्छ । त्यो बन्ड किनेबापत कुनै पनि व्यक्तिले तिर्ने रकम हरेक वर्ष १० गुणा बढी प्रतिफलसहित फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरिएको हुन्छ । एक प्रकारले भन्ने हो भने हाइपर फन्ड लगानीसम्बन्धी कुनै एउटा कम्पनीले विकास गरेको प्रच्छन्न मुद्रा (कृप्टो करेन्सी) हो र यसको कारोबार सञ्चालन गर्ने कम्पनी माथि कुनै पनि नियमनकारी निकायको निगरानी रहेको पाइँदैन ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्