मकवानपुर । धादिङको गल्छी क्षेत्रमा सडक अवरुद्ध भएपछि हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढेको छ। बढ्दो चापलाई व्यवस्थापन गर्न त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्गमा यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर सञ्चालन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टका अनुसार यात्रुवाहक सवारीसाधनपछि इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारीसाधनलाई प्राथमिकता दिइएको छ।
त्रिभुवन राजपथ साँघुरो हुनुका साथै घुम्तीहरूमा ठूला सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुने भएकाले आलोपालो प्रणाली लागू गरिएको उहाँले जानकारी दिनुभयो। सवारी व्यवस्थापनका क्रममा कतिपय सवारीसाधनलाई एकदेखि दुई घण्टासम्म रोक्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्धारण गरेको व्यवस्थाअनुसार त्रिभुवन राजपथमा ११ मिटरसम्म लम्बाइ भएका यात्रुवाहक सवारीसाधनलाई सञ्चालन अनुमति दिइएको छ। त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई उक्त सडकखण्डमा सञ्चालन गर्न रोक लगाइएको छ।
साना यात्रुवाहक सवारीसाधनका लागि भीमफेदी सडकखण्ड हुँदै आवागमन गर्ने व्यवस्था मिलाइएको छ। हेटौँडाको चौकीटोलमा टाटा सुमो तथा विद्युतीय सवारीसाधनका लागि पार्किङ र यात्रु चढाउने व्यवस्था गरिएको ट्राफिक प्रहरी प्रमुख विष्टले बताउनुभयो। भीमफेदी सडकखण्डमा साना सवारीसाधनको दोहोरो आवागमन भइरहेको छ भने देउराली र जुरिखेतलगायत स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ।
यसैबीच, बडादसैँलाई लक्षित गर्दै हेटौँडा बसपार्क र चौकीटोलमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। यात्रुबाट बढी भाडा असुल्ने, सवारीसाधन चढ्न समस्या हुने तथा सडकको अवस्थाबारे जानकारी लिनुपर्ने समस्यालाई सम्बोधन गर्न सहायता कक्ष स्थापना गरिएको विष्टले जानकारी दिनुभयो।
सडक दुर्घटना न्यूनीकरणका लागि साँघुरा सडक, जोखिमयुक्त घुम्ती तथा अन्य संवेदनशील स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ। चालकलाई तीव्र गतिमा सवारी नचलाउन, जथाभाबी ओभरटेक नगर्न तथा सडकको अवस्थाअनुसार सावधानी अपनाउन सचेत गराइएको छ।
उपलब्ध ट्राफिक जनशक्तिलाई सवारी व्यवस्थापनमा परिचालन गरिएको जनाउँदै विष्टले सडकको अवस्था र सवारी चापअनुसार व्यवस्थापनलाई थप प्रभावकारी बनाइने बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्