बडादसैँ नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

Sagarmatha Post
Sagarmatha Post २६ आश्विन २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ । बडादसैँको नवरात्रअन्तर्गत आज दोस्रो दिन नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। यस अवसरमा देशभरका दसैँ घर तथा पूजा कोठामा देवीको आह्वान गरी धार्मिक विधिअनुसार पूजापाठ गरिँदैछ। नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जौँको जमरा राखिएको थियो। सोही दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो। नवरात्रको दोस्रो दिन आज भने ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ।

नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने धार्मिक परम्परा छ। धार्मिक विश्वासअनुसार यस अवधिमा श्रद्धापूर्वक देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता रहेको छ। यही मान्यताका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा भवानीको विशेष पूजा आराधना गर्छन्। नवरात्रका नौ दिन पूजा गरी चढाइएको प्रसाद तथा जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ।

संसारका समस्त प्राणीलाई सच्चिदानन्दस्वरूप ब्रह्मको बोध गराउन निरन्तर साधनामा लीन रहने देवीका रूपमा नवदुर्गाकी दोस्रो स्वरूप ब्रह्मचारिणीलाई लिइन्छ।नवरात्रको अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको चहलपहल बढेको छ। यसैगरी, राज्यका तर्फबाट नवदुर्गाको पूजा गरिने काठमाडौँस्थित हनुमानढोका दरबारको दसैँ घरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्