काठेखोला (बागलुङ), चैत २७ गते । बागलुङमा सहकारीप्रतिको नकारात्मक भ्रम चिरेर ऋणीलाई ऋण तिर्न प्रेरित गर्न सहकारी पुराण लगाइएको छ । सिवाइसी सहकारी बागलुङले मङ्गलबार सहकारीबाट ऋण लगेर ऋण तिर्न कठिन भएका सदस्यको ग्रहशान्ति गर्न र सदस्यलाई जागरुक बनाउन पुराण लगाएको हो ।
सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले ऋण लगेकाले नतिर्ने र बचतकर्ताले विश्वास नगर्ने भएपछि पुराण लगाएरै सचेत गराइएको बताउनुभयो । उहाँले सदस्यलाई जागरुक बनाउन सकेमा मात्रै सहकारीको भविष्य राम्रो रहेको भन्दै आफ्नो सहकारीले सदस्यमैत्री भएर काम गरिरहेको बताउनुभयो ।अध्यक्ष पौडेलले पछिल्लो समय सहकारीले गरेको राम्रो काम ओझेलमा परेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “नेपालमा ३२ हजार सहकारी संस्था छन् । जसमध्ये पाँच सयदेखि एक हजार सहकारी बिग्रेका होलान् । ३१ हजार सहकारीले राम्रो काम गरिरहेका छन्,” अध्यक्ष शर्माले भन्नुभयो, “३१ हजार सहकारीले राम्रो काम गरेको ओझेलमा पारेर एक हजार बिग्रेका नराम्रो कामको पछि हिँडेका छन् । हामीले नकारात्मक मात्र कुरा नगर्नूस् भन्न पुराण लगाएका हौँ ।” सदस्यलाई जागृत गर्न सकेमा मात्रै सहकारीको भविष्य राम्रो रहेको अध्यक्ष शर्माको भनाइ छ । उहाँले सहकारीले पनि सदस्यमैत्री भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । सिवाइसीले सदस्य जागृत गर्न र ऋणीलाई ऋण तिर्न प्रेरित गर्न पुराण लगाएको शर्माको भनाइ छ ।
सहकारीको ऋण नतिर्नेलाई कालो सूचीमा राख्ने प्रावधानले सहकारी अभियानलाई खुसी तुल्याएको अध्यक्ष शर्माले बताउनुभयो । “ऋण लगेर नतिर्दा सामाजिक रूपमा बहिष्कारमा त परिन्छ नै, ऋण नतिर्नेलाई धार्मिक रूपमा समेत पाप लाग्ने, कल्याण नहुने र नर्कमा जाने कुरा पुराण लगाएर पण्डितको मुखारबिन्दबाटै सुनाइएको छ,” शर्माले भन्नुभयो । सहकारीले सदस्यमैत्री सेवा दिएमा हल्लाका भरमा सहकारी नडुब्ने बताउँदै सदस्यलाई भ्रमबाट मुक्त गर्न सदस्य जागरण अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
सहकारी पुराण कार्यक्रममा प्रवचन दिँदै यतिराज आश्रम सहश्रधारा पर्वतका पीठाधिश्वर स्वामी नारायणाचार्यले वेदमै सबैले सबैको भलो गर्नुपर्ने लेखिएको बताउँदै ऋण लिएर नतिर्नेको कल्याण नहुने बताउनुभयो । “वेदमा सबैले सबैको भलो गर्नुपर्ने लेखिएको छ,” नारायणाचार्यले भन्नुभयो, “कसैको रकम फिर्ता गर्ने सर्तमा लिइन्छ भने सर्त अनुसार फिर्ता गर्नु पर्छ । फिर्ता नगरेमा कल्याण हुँदैन ।” उहाँले ऋण नतिर्दा हुन सक्ने मानसिक र सामाजिक क्षतिको विषयमा समेत जानकारी लिन सदस्यलाई आग्रह गर्नुभयो । सहकारी पुराणमा प्रवचनसँगै भजनकीर्तनसमेत प्रस्तुत गरिएको थियो । सिवाइसीले ऋण सङ्कलन गर्न र सदस्यलाई क्रियाशील बनाइराख्न चैत १३ गतेदेखि सदस्य जागरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्